विषय प्रवेश
‘मेरा पुस्तक, बाबाका पेन्टिङहरू, मेरो हजुरबाका पालाको छालाले मोरेको पुरानो कुरान र हरेक बिहान बा र मैले ब्रेकफास्ट खाँदा प्रयोग गर्ने सानो फोल्डिङ टेबल जस्ता बिक्री गर्न नचाहेका थोरै सामानहरूलाई हामीले हतारहतार प्याक गर्यौं। बाबाको श्रीसम्पत्ति, मैले उत्तराधिकारमा पाउने अंश र मेरो मुटुको एक टुक्रा सहितका सबै सबै चिज त्यहीँ छाडिराखेर हामी हिँड्यौं।’
खालिद हुसेनको ‘द काइट रनर’ को मुख्य पात्रको परिवार राजनीतिक अस्थिरताका कारण आफूले मिहिनेतले जोरजाम गरेको सम्पत्ति र सम्झनाहरूलाई चटक्कै छाडेर अफगानिस्तानबाट विस्थापित भएको छ। जलवायु परिवर्तनका कारण विस्थापनमा परिरहेका र लगत्तै त्यही नियति भोग्न बाध्यहरूको पीडा पनि यस्तै हुनेछ। जलवायुजन्य कारणले विस्थापनमा परेकाहरूले घरबास त्याग्नुको पीडा र नौलो परिवेशमा लय मिलाउनुपर्ने चुनौतीका कारण यस्तो भौतिक क्षतिभन्दा पर कठोर स्वास्थ्य समस्या झेल्नुपर्ने हुन्छ।
संसारको तापक्रम सहजै अनुभव हुनेगरी बढेको छ र खासगरी गएको दशक (२०११–२०२०) निकै तातो रह्यो। वास्तवमा सन् १८०० को तुलनामा हाम्रो पृथ्वीको तापक्रम एक डिग्री सेल्सियसभन्दा बढी माथि गएको छ। अहिले तपाईं यसै धर्तीमा बस्दै हुनुहुन्छ भने (हामीमध्ये धेरैलाई अर्को विकल्पै छैन) त्यो झनै तातो भएको छ किनभने त्यसको तापक्रम झन्डै १.६ डिग्री सेल्सियसले बढेको छ। यस परिदृश्यलाई हेर्दा तापक्रममा यस्तो तीव्र वृद्धि गत दुई हजार वर्षयता देखिएको थिएन। किन यस्तो भइरहेछ त? यसो हुनुको मुख्य कारण हो खासगरी कोइला, तेल र ग्यास जस्ता खनिज इन्धन जलाएर वायुमण्डलमा हामीले थोपरेको प्रदुषण। सन् २०१९ तिर आइपुग्दा गत २० लाख बर्षमा पनि नदेखिएको मात्रामा हाम्रो वायुमण्डलमा कार्बनडाइअक्साइड (मुख्य प्रदूषक) देखियो।
सोही वर्ष हामीले ५९ अर्ब टन हरितगृह ग्यास उत्सर्जन गर्यौं जुन हामीले १९९० मा गरेको उत्सर्जनको तुलनामा ५४ प्रतिशतले बढी हुन्छ। यस्तो अत्यधिक गर्मीले मानिसको जीवनलाई प्रभावित गर्ने नै भयो। समुद्र सतह बढ्दै छ। यसले निम्त्याउने थप पोल्ने तातो हावा र लामा लामा खडेरी जस्ता असामान्य मौसम नै हो। परिणामतः खासगरी कमजोर क्षेत्रको ठुलो जनसङ्ख्या आवश्यक खाद्य पदार्थ र शुद्ध पानीका लागि सङ्घर्षरत छ। त्यसका अतिरिक्त उष्ण वातावरणले थप स्वास्थ्य समस्या थपिदिन्छ र दूषित खाना, पानी र लामखुट्टे जस्ता कीटका कारण व्याधि फैलिन्छ।
हिमालयको काखमा अवस्थित नेपालको शान्त तथा सुन्दर प्रकृति हुँदाहुँदै पनि २०२० ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सका अनुसार जलवायु परिवर्तनका कारण ठुलो जोखिममा रहेका १० राष्ट्रमध्येमा यो मुलुक पर्दछ। यो हाम्रा लागि फगत तथ्याङ्क नभएर दैनिक भोगाइजन्य अनुभव हो। मौसम सम्बन्धी पछिल्ला तथ्यअनुसार पूर्वानुमान गर्न नसकिने मौसमसँग नेपाल कठोरतासाथ लडिरहेको छ। अघिअघि विरलै सुनिने गरेको बाढी, खडेरी र पहिरोले अहिले यथार्थमा नियमित घटनाक्रमको रूप लिइरहेका छन् जसले व्यापक क्षति र विस्थापनलाई उक्साइरहेको छ।
भर्खरैमात्र अहिलेसम्म अनुभव नगरेको गर्मीको अनुभव हामीले गर्नपर्यो। पहिले स्थिर रहेका हिमनदीहरू आश्चर्यजनक रूपमा पग्लिरहेका छन्। यस क्रमलाई नियाल्दा नदीमा आश्रित यस मुलुकले भविष्यमा पानीका स्रोतको ठुलो सङ्कट बेहोर्नुपर्ने कहालीलाग्दो सन्देश आइरहेको देखिन्छ। त्यति मात्रै होइन, जलवायुजन्य कारणहरूले नेपालको अथाह जैविक विविधता जोखिममा छ। यसले मुलुकको विशिष्ट प्राकृतिक सम्पदालाई समेत नराम्ररी चुनौती दिइरहेको छ। सारमा भन्दा, नेपाल विकास र जलवायुजन्य जोखिमको चौबाटोमा उभिएका बेला यसका सामु आइरहेका वातावरणीय कठिन चुनौतीहरूलाई विश्वव्यापी चेतावनीका रूपमा लिनुपर्ने देखिन्छ र नेपालको जलवायु सङ्कटलाई विश्वव्यापी चासोको संवाहकका रूपमा संसारले स्विकार्नुपर्दछ।
स्वास्थ्यजन्य चुनौती
जलवायु परिवर्तनका बृहत्तर चुनौतीहरू र त्यसले स्वास्थ्यमा पार्ने प्रभावसँग विश्व लड्दै गर्दा कमजोर जनसङ्ख्याको विस्थापन र तिनका सामु उपस्थित स्वास्थ्यजन्य चुनौती एउटा सशक्त चासोका रूपमा अगाडि आउँछ। बढ्दो विश्व उष्णीकरणले विषम मौसमी घटनाहरू वृद्धि गर्छ र शुद्ध पानीका स्रोतहरू घटाउँछ जसका कारण करिब १४ करोड ४३ लाख मानिसलाई सुरक्षाका लागि आफ्नो थातथलो छोड्न बाध्य बनाउँछ। यीमध्ये चार करोड दक्षिण एसियाका मात्रै पर्दछन्। सामुन्ने आएको खतराबाट तत्काल उम्कनलाई होस् या बिस्तारै सहर पस्ने क्रम, दुवैले निम्त्याउने बसाईंसराइले मानिसलाई बिरानो वातावरणमा पुर्याउँछ जहाँ प्रायः स्वास्थ्य सेवा पूर्वाधारको अभाव रहन्छ वा पहुँचमा कमी रहन्छ। परिणामतः उनीहरूले तात्कालिक स्वास्थ्य जोखिम मात्रै होइन स्वास्थ्य सेवामा जघन्य विभेदको समेत सामना गर्नुपर्दछ।
मानिसमा गहिरो तनाव, दुश्चिन्ता, उदासीनता जस्ता मानसिक रोगले नराम्ररी क्षति पुर्याउने मात्र होइन बाढी, आगलागी जस्ता प्रकोपका कारण मानिस आत्महत्या गर्ने सोचमा समेत पुग्दछ। अनिश्चित मौसमले बसाईंसराइको मार्ग बदलिदिन्छ जसका कारण मानिस नौला सङ्क्रामक रोगको सिकार बन्न पुग्दछन्। उदाहरणका लागि पशुपंक्षी, खासगरी विषाणु संवाहक मानिने चमेरोले आफ्नो बासस्थान परिवर्तन गर्दछ जसका कारण मानिसमा सम्भावित रोग सर्ने जोखिम बढ्दछ। यस लेखमा जलवायु परिवर्तन, विस्थापन र स्वास्थ्य बिचको जटिल अन्तरसम्बन्धलाई तत्काल एकीकृत रूपले सम्बोधन गर्न आवश्यक रहेको देखाउन खोजिएको छ। जलवायु परिवर्तनका अन्य पाटा र असरहरूलाई यहाँ हेरिएको छैन।
अर्को एउटा उदाहरण लिऔं– तापक्रमको वृद्धिले आमाको आफ्नो नानीलाई स्तनपान गराउने बानीमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ। जसअनुसार जाडो दिनको तुलनामा गर्मी दिनमा आमाहरूले २५ मिनट कम दुध चुसाएको पाइयो। चार महिनामाथिका शिशुहरूमा यसको निकै ठुलो असर परेको देखियो। यसका अतिरिक्त ज्यादै गर्मीको समयमा नवजात शिशुलाई दुध मात्रै चुसाउनुको साटो पानी जस्ता अन्य तरल पदार्थ समेत दिने गरेको पाइयो।
यो किन महत्त्वको विषय हो त? सामान्यतः यसलाई एउटा असुविधाजनक अवस्थाको घटना मात्रै हो भनेर पन्छाउन सकिएला तर यसले पार्ने प्रभाव व्यापक हुन्छ। नवजात शिशुलाई खासगरी प्रारम्भिक महिनाहरूमा आमाको दुध मात्रै खुवाउनाले शिशुले आवश्यक पोषक तत्त्व पाउँछ, रोग लाग्नबाट जोगिन्छ र उसमा प्रतिरोधी क्षमता थपिन्छ। जलवायु परिवर्तनले यस महत्त्वपूर्ण चलनलाई तलमाथि पार्यो भने हामी भविष्यको पिँढीप्रति सम्झौता गरिरहेका हुन्छौं। जलवायु परिवर्तनको असर आमाले शिशुलाई आफ्नो दुध खुवाउने कुरामा मात्रै सीमित छैन। यसले घरभित्रको वातावरणमा समेत दखल पुर्याउँछ। जस्तै, खाना बनाउने क्रममा घरभित्रको हावा प्रदूषित हुन्छ जसको प्रभाव र असर आमा र शिशु दुवैको स्वास्थ्यमा पर्न जान्छ।
जलवायु परिवर्तनको यस्तो नराम्रो प्रभावलाई सम्बोधन गर्न ढिलाइ गर्नुहुँदैन। यसले गर्ने प्रत्यक्ष क्षतिलाई न्यूनीकरण गर्न त आवश्यक छ नै दिगो र स्वस्थ भविष्यका लागि यसलाई आत्मसात गरेर यस्ता कम बुझिने खाले परिणामलाई पनि बुझ्न र सम्बोधन गर्न जरुरी छ।
किन जलवायुजन्य विस्थापन?
जलवायुजन्य विस्थापनमा बढी चासो किन? अरू प्रकारका विस्थापनले भन्दा जलवायुजन्य विस्थापनले विशेष स्वास्थ्य चुनौती ल्याउँछ। प्रथमतः मौसमको स्तर र यसको पूर्वानुमान गर्न नसकिने अवस्थाका कारण छोटै समयमा धेरै जनसङ्यामा बसाईंसराइ हुने भएकाले तत्काल स्वास्थ्य सेवा पुर्याउन गाह्रो हुन्छ। यस्तो विस्थापन प्रायः त्यस्ता इलाकाबाट हुन्छ जहाँ वातावरणीय कारणबाट पहिले नै स्वास्थ्य सेवा कमजोर अवस्थामा रहेको हुन्छ। दोस्रो, मौसमजन्य घटनाले विशिष्ट किसिमका स्वास्थ्य चुनौती ल्याउँछ; जस्तै– बाढीपछि दूषित पानीबाट लाग्ने रोगहरू फैलिन्छन् भने खेडेरीले कुपोषण र खाद्य असुरक्षा निम्त्याउँछ। लामो समय विषम मौसममा रहनुपर्दा शरीरको तापक्रम अत्यधिक बढ्ने र त्यसलाई नियन्त्रण गर्न गाह्रो हुने (हिट स्ट्रोक) जस्ता शारीरिक समस्या मात्रै आउने होइन, आघात तथा चिन्ता जस्ता मानसिक समस्यासमेत आउन सक्दछन्। राजनीतिक वा आर्थिक आप्रवासीभन्दा फरक रूपमा जलवायुजन्य आप्रवासी सांस्कृतिक तथा पुर्ख्यौली सम्बन्धका कारण प्रायः प्रभावित क्षेत्रमा फर्कने वा त्यसको समीपमा रहने गर्दछन् जसले गर्दा उनीहरू एकपछि अर्को स्वास्थ्य जोखिमको चक्रमा परिरहन्छन्।
स्वास्थ्य सेवामा रहेको विभेदविरुद्ध सङ्घर्षरत मुलुक नेपालमा मौसम प्रभावित विस्थापनले असुरक्षालाई थप विस्तारित गर्दछ। यसले पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा आघात पुग्दछ। बालबालिकाको कमजोर प्रतिरोध क्षमता तथा ज्येष्ठ नागरिकको सङ्क्रमणउन्मुख अवस्थाका कारण जीवाणु प्रतिरोधी क्षमता (एन्टी–माइक्रोबायल रेसिस्टेन्स) झन् कमजोर भएर जान्छ। कम आय भएका र वञ्चितिमा परेको जनसङ्ख्या दोहोरो मारमा पर्दछन्– पहिलो जलवायु परिवर्तनजन्य विनाशकारी शक्तिको कुप्रभाव र दोस्रो, त्यसपछिको अवस्थामा स्वास्थ्य सेवामा विद्यमान असमताका कारण भोग्नु पर्ने समस्या। स्वास्थ्य सेवामा विद्यमान विभेदलाई बढ्दो औषधि प्रतिरोधी सङ्क्रमणले झन् बलियो बनाउँछ जसको परिणामले स्वास्थ्य सेवामा रहेको सीमित पहुँचलाई समेत खुम्च्याउँछ।
नेपालको स्वास्थ्य सेवाको पूर्वाधार जलवायु परिवर्तनका असरहरू झेल्ने दृष्टिले तयारी अवस्थामा पटक्कै छैन। यस मुलुकको भौगोलिक अवस्थाले पनि स्वास्थ्य सेवालाई जटिल बनाएकै छ। यस्तो अवस्थामा नियमित रूपमा आउने बाढीपहिरो जस्ता जलवायुजन्य समस्या थपिँदा प्रकोप व्यवस्थापनको अवस्था कस्तो होला? यो पूर्वाधारको मात्रै कुरा होइन। नेपालको स्वास्थ्य सेवामा संलग्न अधिकांश जनशक्ति कमजोर ग्रामीण क्षेत्रलाई उपेक्षा गर्दै सहरकेन्द्रित बनेको छ। जलवायु परिवर्तनजन्य बसाईंसराइको दबाब उसै पनि अपुग स्रोतमा पर्न जान्छ जसले स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा झन् खडेरी ल्याउँछ। स्वास्थ्य मन्त्रालयले यसमा अग्रता लिन चाहे पनि अपुग आवश्यक सरसामान तथा जनशक्ति, सञ्चार व्यवस्था र सरकारका अन्य निकायको परिवहनको अवस्थाले विभागलाई बाँधेको छ। स्वास्थ्य क्षेत्रको न्यून बजेट च्यापेर जलवायु परिवर्तनजन्य बसाईंसराइलाई समग्र रूपमा तात्कालिक स्वास्थोपचारदेखि दीर्घकालसम्म रहने मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने चुनौती सानो छैन। नेपालका लागि जलवायुसँग जुध्ने क्षमता र स्वास्थ्य सेवाको व्यवस्था ऐच्छिक नभएर अनिवार्य छ।
दिगो विकास लक्ष्यको यस समयमा जलवायु परिवर्तन, बसाईंसराइ र स्वास्थ्यबिच जेलिएको चुनौती अरू समयमा भन्दा प्रखर भएको छ। संयुक्त राष्ट्र सङ्घको तत्वावधानमा सन् २०१५ मा अगाडि ल्याइएको दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सबैका लागि अझ उत्तम र दिगो भविष्यको मार्गचित्र प्रस्तुत गर्दछ। यीमध्ये दिगो विकास लक्ष्य १३ ले जलवायु परिवर्तन र त्यसको प्रभावलाई सामना गर्ने वातावरण निर्माणका लागि आह्वान गर्दछ भने लक्ष्य ३ को उद्देश्य सबै उमेर समूहका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने र सुख समृद्धिलाई प्रवर्धन गर्ने रहेको छ। त्यति मात्र होइन, दिगो विकास लक्ष्य १० ले राष्ट्रभित्र र राष्ट्र राष्ट्रबिचको असमानतालाई घटाउने ध्येय राख्दछ।
यी लक्ष्यलाई जलवायु परिवर्तनका कारण कमजोर जनसङ्ख्याको विस्थापनले प्रत्यक्ष प्रभावित गर्दछ। यी लक्ष्यहरूबिचको जटिल सम्बन्धले हामीले सामना गर्ने चुनौतीको महत्तालाई दर्साउँछ। विश्व समुदाय नै दिगो विकास लक्ष्य प्राप्तिमा लागेका बेला जलवायुजन्य विस्थापन र त्यसले ल्याउने स्वास्थ्य चुनौती जस्तो गम्भीर मुद्दालाई सम्बोधन नगरी हुँदैन। यसो भए मात्रै कसैलाई पनि पछाडि नछाडी हाम्रो दिगो भविष्यतर्फको यात्रा अघि बढ्ने सुनिश्चित हुन्छ।
आगामी बाटो
जलवायुजन्य विस्थापन र स्वास्थ्य सेवामा यसले पार्ने प्रभावले बढाएको चुनौती व्यापक छ र त्यसलाई सम्बोधन गर्न तथ्याङ्क सङ्कलनबाट थालिनुपर्छ। अहिलेको हाम्रो काम गर्ने शैलीको कमजोर पक्ष नै समष्टिगत तथ्याङ्कको अभाव हो, यस्तो तथ्याङ्कले मौसमजन्य परिघटना र जनस्वास्थ्यमा त्यसको प्रभावलाई अनुगमन गर्न सघाउँछ। मौसमजन्य अस्वाभाविक अवस्था र प्रभावित रुग्ण जनसङ्ख्या दुवै पत्ता लगाउन उन्नत प्रविधियुक्त निगरानी व्यवस्थाको स्थापना नगरी नहुने विषय हो। यसले विषयवस्तुको हाम्रो बुझाइलाई तिख्खर बनाउने मात्रै होइन कार्यान्वयन लायक तत्परता बनाउनमा समेत सघाउँदछ। अनुकूलन योजना पनि उत्तिकै महत्त्वको छ– सम्भावित जोखिमका बारेमा समुदायलाई सुशिक्षित गराई स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत समेत उपलब्ध गराइनुपर्दछ। यस्तो योजना अन्तर्राष्ट्रिय सहयोग समर्थित हुनुपर्दछ जसले साँच्चै समस्यामा परेको समुदायले सहयोग प्राप्त गर्न सकेको सुनिश्चित गर्दछ। ठुला राष्ट्रका कारण नेपालले जलवायु परिवर्तनको असमानुपातिक प्रभाव बेहोर्नुपरेको हुनाले पनि ती राष्ट्रले अझ बढी सहयोग गर्नुपर्ने देखिन्छ।
उच्च जोखिम क्षेत्र नक्साङ्कन गर्न र बसाईंसराइ मार्ग पहिले नै आकलन गर्न स्थान विशेषको प्रविधि उपयोग गरी नक्साङ्कन गर्ने जस्ता नवप्रवर्तनीय समाधानले हाम्रो पूर्वतयारीलाई बल प्रदान गर्दछ। बसाईंसराइको प्रवृत्तिलाई पूर्वानुमान गरेर हामीले विशेष सक्रियतासाथ स्वास्थ्य सेवाको व्यवस्थालाई सबल पारी समयबद्ध तथा प्रभावकारी सेवा उपलब्ध गराउनुपर्दछ। स्वास्थ्यकर्मीहरू यस सङ्ग्राममा अग्र मोर्चामा रहन्छन्।
उनीहरूलाई विस्थापित मानिसका विशिष्ट किसिमका आवश्यकतालाई बुझ्ने र तिनलाई सम्बोधन गर्ने सम्बन्धी विशिष्टीकृत तालिम दिइनुपर्छ। यस्तो तालिममा मौसमजन्य परिघटनासँग सम्बन्धित रोग वर्गीकरण, जस्तै हिट स्ट्रोकदेखि लामखुट्टे आदिले सार्ने रोग (भेक्टर वोर्न डिजिज), लाई बुझ्ने जस्ता विषय समावेश गरिनुपर्दछ। कुनै पनि प्रकारको हिचकिचाहट र अनुभवहीनताले अन्ततः अत्यावश्यक सेवा उपलब्ध हुँदैन।
यस परिप्रेक्ष्यमा नीति निर्माताहरूलाई हाम्रो सुस्पष्ट सन्देश हुनुपर्दछः हाम्रो पुस्ताले नयाँ पुस्तालाई छाड्ने बिरासत अल्पकालीन उपलब्धिले होइन, त्यसलाई आउँदो पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताले परिभाषित गरिनुपर्दछ। थुप्रै राजनीतिक एजेन्डाभन्दा माथि उठेर दीर्घकालीन समाधानलाई प्राथमिकीकरण गर्नु उपयुक्त रणनीति मात्र होइन, नैतिक अपरिहार्यता पनि हो।
(गौतम अन्वेषणका प्रबन्ध निर्देशक हुन् र जलवायुपरिवर्तन र जनस्वास्थ्यमा पर्ने असरका विषयमा अनुसन्धान गर्छन्। अन्वेषण जनस्वास्थ्यका विषयमा अनुसन्धान गर्ने संस्था हो।)