ईन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) नेपाल वि.सं. २००९ साल (सन् १९५२)देखि नेपाली मात्रको सेवामा अनवरत रुपमा सेवारत संस्था हो। नेपालको पश्चिम क्षेत्रमा स्वास्थ्य तथा समुदाय विकासका क्षेत्रमा काम गर्दै आइरहेको यस संस्था सम्भवतः नेपालकै पहिलो गैरसरकारी मध्येको एक हो। प्रेम, सेवा, सत्यनिष्ठा र उत्कृष्टतालाई आफ्नो मूल्य र मान्यताका रुपमा अवलम्वन गरेको यस संस्थाको मुख्य उद्देश्य भनेको नेपालका गरिब र सुविधाबाट वञ्चित मानिसहरुको जीवनमा भरिपूर्णता ल्याउनमा टेवा पुर्याउनु हो।
आफ्नो स्थापना कालदेखिनै कुष्ठ–प्रभावित मानिसहरुका लागि काम गर्दै आइरहेको यस संस्था अपाङ्गता व्यवस्थापन तथा पुनर्स्थापनाका क्षेत्रमा समेत सुपरिचित नाम हो। यस संस्थाले नेपालका दुर्गम तथा अति विपन्न भेगका समुदायहरुमा जनस्वास्थ्य तथा समुदाय विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
आईएनएफको स्थापनाकालमा नेपालको स्वास्थ्य सेवाको अवस्था एकदमै दयनिय थियो। त्यतिबेलाको पोखरा लगायतका सम्पूर्ण पश्चिम क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवामा पहुँच राम्रो थिएन। नेपालको स्वास्थ्य सेवामा योगदान दिने उद्देश्यले नेपाल–भारत सीमामा अवस्थित नौतुना भन्ने स्थानबाट डा. लीली ओह्यान्लन र हिल्डा स्टिलको अगुवाईमा पोखरा आएको नेपाली सहितको चिकित्सा टोलीले पोखराको रामघाटमा एक स्वास्थ्य क्लिनिकको स्थापना गर्यो। आफ्नो सेवा विस्तार गर्ने क्रममा आईएनएफको टोलीले वि.सं. २०१० मा नै पोखराको टुँडीखेलमा ‘साइनिङ अस्पताल’को स्थापना गर्यो, जुन नेपालको समग्र पश्चिम क्षेत्रकै पहिलो अस्पताल बन्न पुग्यो।
उक्त साइनिङ अस्पतालले पोखरा लगायत पश्चिमी भेगका जनताहरुलाई मातृशिशु स्वास्थ्य सेवा, प्रसूति सेवा, शल्यक्रिया लगायतका विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दथ्यो। वि.सं. २०३५ सालमा आईएनएफले तत्कालिन नेपाल सरकारको आग्रहमा साइनिंग अस्पताल बन्द गरि आफ्ना स्रोतहरु तत्कालिन गण्डकी अञ्चल अस्पतालको विकास निर्माणमा परिचालित गर्यो।
तत्कालिन कर्णाली, राप्ती, भेरी, धौलागिरी लगायतका अञ्चलहरुबाट समेत कुष्ठ प्रभावित मानिसहरु ठूलो संख्यामा उपचारका लागि साइनिङ अस्पताल आउन थालेपछि छुट्टै कष्ठरोग उपचार केन्द्रको आवश्यकता महसुस गरियो र वि.सं. २०१४ मा पोखराकै नयाँगाउँमा स्थापना गरियो हरियो खर्क कुष्ठरोग उपचार केन्द्र। कालान्तरमा यहि उपचार केन्द्र हरियो खर्क अस्पताल तथा पुनर्स्थापना केन्द्रका रुपमा रहन गयो जुन कष्ठरोग उपचार तथा अपांगता व्यवस्थापनका लागि पर्यायवाची नै बनेको छ। नेपाल सरकारले विसं. २०३१ मा राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आईएनएफलाई नेपालको सम्पूर्ण पश्चिम क्षेत्र हेर्न अनुरोध गरेको थियो।
यस हरियो खर्क अस्पतालमा हाल कुष्ठ तथा छाला रोग बाहेक कान सम्बन्धी सम्पर्ण उपचार, मेरुदण्ड पक्षघात, सेरेब्रलपल्सी, प्रशामक सेवा लगायत अकुपेशनल थेरापी, फिजियोथेरापी, स्पीच तथा ल्याङ्वेज थेरापी लगायतका सेवाहरु उपलब्ध छन्। यस अस्पताल अगाडि बढिरहेको छ। विभिन्न उतारचढावहरु पार गर्दै यहाँसम्म आएको हरियो खर्क अस्पताल आफूलाई अपांगतमा आधारित ५०० शय्याको विशिष्टीकृत अस्पतालका रुपमा उभ्याउन लागि परिरहेको छ।
हरियो खर्क अस्पताल बाहेक पनि आईएनएफले साईनिंग अस्पताल बाँके, साईनिंग अस्पताल सुर्खेत तथा कर्णाली प्रदेश अस्पताल परिसरमा फिस्टुला उपचार केन्द्र सञ्चालन गरिरहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरुमा सामुदायीक विकास तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न परियोजनाहरु नेपाल सरकारका विभिन्न निकायहरु तथा दातृ निकायहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिरहेको छ।
विगत ७१ वर्षदेखि सक्रिय आईएनएफले विभिन्न आरोह अवरोह पार गरेको छ। संस्थाको स्थापनाकालमा परिस्थिति त्यति सहज थिएन। संस्था स्थापनाका सम्बन्धमा थुप्रै कानूनी अड्चनहरु थिए। स्रोतको अभाव थियो। समुदाय तहमा रोग र स्वास्थ्य सम्बन्धी जानकारी कम थियो तर संस्थामा आवद्ध व्यक्तिहरुको भावना मजबुत थियो, मानिसहरुको स्वास्थ्य र जीवनस्तर उकास्नका लागि सहयोग गर्ने भावना प्रवल थियो। विस्तारै सहयोगी हातहरु बढ्दै गए, सिकाईहरुमा विस्तार हुँदै गयो र सरकारसँगको सहकार्य तथा समन्वयमा वृद्धि हुँदै गयो।
आईएनएफका कार्यक्षेत्रहरु
आईएनएफ नेपालले समुदायमा आधारित कार्यक्रमहरु र चिकित्सकीय कार्यक्रम गरि मूलतः दुई क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो, समुदायमा आधारित स्वास्थ्य तथा विकास कार्यक्रमहरु अन्र्तगत सामुदायिक स्वास्थ्य र विकास कार्यक्रमहरु, समुदायमा आधारित पुनर्स्थापना, मातृशिशु स्वास्थ्य कार्यक्रम, विपद् जोखिम न्यूनिकरण, जलवायू परिवर्तन, लैंगिक समता तथा सामाजिक समावेशिकरण जस्ता कार्यक्रम छन् भने दोश्रो अस्पताल मार्फत गरिने चिकित्सकीय सेवा अन्तरगतः स्वास्थ्य सहयोग सेवा, कुष्ठरोगको निशुल्क आवासीय उपचार, निशुल्क स्वास्थ्य तथा शल्यक्रिया शिविर, मेरुदण्डको चोट वा समस्या सम्बन्धी उपचार, शारीरिक पुनर्स्थापना र कान र सुनाइ सम्बन्धी समस्याको उपचार सेवा, प्रशामक तथा दीर्घरोग सेवा, प्रसव फिस्टुला सेवा रहेका छन्।
आईएनएफ नेपालको केन्द्रीय कार्यालय पोखरामा छ भने यसले नेपालका विभिन्न जिल्लाहरुमा त्यहाँका समुदायहरुसँग सहकार्य गर्दै आएको छ। साथै, संस्थाले पोखरामा हरियो खर्क अस्पताल मार्फत कुष्ठरोग लगायत विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरुलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने गरेको छ। त्यसैगरी बाँके जिल्लाको नेपालगञ्जमा स्थापित ‘साइनिङ अस्पताल’ मार्फत बाँके तथा वरपरका जिल्लाबासीहरु र सुर्खेतको वीरेन्द्रनगरमा स्थापित ‘साइनिङ अस्पताल’मार्फत कर्णाली प्रदेशका बासिन्दाहरुलाई स्वास्थ्य सेवा दिँदै आएको छ।
व्यक्ति, परिवार र समाजको शारीरिक, मानसिक, सामाजिक, आर्थिक र भावनात्मक विकासलाई ध्यानमा राखी कुष्ठरोग उन्मूलनका लागि आईएनएफले आफ्ना अस्पतालहरु मार्फत प्रदान हुँदै आएका विभिन्न सेवाहरु निम्नानुसार रहेका छन्।
(क) हरियो खर्क अस्पताल, पोखरा
हरियो खर्क अस्पताल १०० शय्या भएको अस्पताल एवं अपाङ्गता भएका व्यक्तिहरुलाई पुनर्स्थापना गर्ने नेपालको पश्चिममा रहेको एक मात्र केन्द्र हो। यस अस्पतालले चर्मसम्बन्धी, कुष्ठरोग, कानसम्बन्धी, हाडर्जोनी सम्बन्धी, मेरुदण्डका चोट तथा अन्य मेरुदण्ड सम्बन्धी समस्या, प्लाष्टिक र रिकन्स्ट्रक्टिभ सर्जरी, शारीरिक पुनर्स्थापना, प्रशामक सेवा लगायतका विशिष्ट र गुणस्तरीय सेवाहरु प्रदान गर्दै आएको छ।
(ख) साईनिङ अस्पताल, सुर्खेत
साईनिङ अस्पताल सुर्खेत नेपालको कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा अवस्थित छ। यस अस्पतालमा कुष्ठरोगका बिरामीहरु, सामान्य अपाङ्गता भएका व्यक्तिहरु, स्ट्रोक, मस्तिष्क पक्षाघात, मेरुदण्डमा चोट, फिस्टुला भएका व्यक्तिहरुलाई उपचार तथा सामाजिक सेवा उपलब्ध छन्। कुष्ठरोग लगायत उल्लेखित सुविधाहरु दिने साईनिङ अस्पताल, सुर्खेत नेपालको कर्णाली प्रदेशमा रहेको एक मात्र केन्द्र हो।
(ग) साईनिङ अस्पताल, बाँके
साईनिङ अस्पताल बाँके जिल्लाको जानकी गाउँपालिका मा अवस्थित छ। २४ शैया रहेको यस अस्पतालले नेपालको बाँके, बर्दिया तथा बाँकेको छिमेकी भारतका केही जिल्लाहरुका मानिसहरुलाई केन्द्रित गरी कुष्ठरोको उपचारमा जोड दिएको छ।
(घ) फिष्टुला उपचार केन्द्र, सुर्खेत
नेपाल सरकार सँगको सहकार्यमा कर्णाली जिल्लाको कर्णाली प्रादेशिक अस्पताल परिसरमा आइ एन एफ नेपालले बि सं २०७५ सालमा फिष्टुला उपचार केन्द्रको स्थापना गरेको छ। जुन केन्द्रमा फिस्टुला भएका व्यक्तिहरुलाई उपचार तथा सामाजिक सेवा उपलब्ध छन्।
समुदाय केन्द्रित पुनर्स्थापना
अपाङ्गता भएका व्यक्तिहरुलाई नेपालमा पिछडिएको (पछाडि पारिएको) वा कम सशक्त वर्गको रुपमा हेरिन्छ। अपाङ्गता भएका व्यक्तिहरुले समाजमा भेदभाव भोग्नु परेको छ। यस कारणले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, सामाजिक सहभागिता, विभिन्न अवसरहरु, उपयुक्त कानुनहरुको कार्यान्वयन, कानुनी प्रावधानहरुमा सिमितता रहेको अवस्था छ। आई एन एफ नेपालले यस्ता अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता विशेष तथा सामाजिक आवश्यकता पूर्ति गर्ने कार्य गर्दै आएको छ।
अझ गुणस्तरीय एवं दीर्घ परिणामका लागि आई एन एफ नेपालले स्थानीय समुदायहरु, अपाङ्गता भएका व्यक्तिहरुको संघ, स्वयं हेरचाह समूह, विभिन्न संघसंस्था तथा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा साझेदारीमा सन् २०३० सम्ममा कुष्ठरोग उन्मूलन गर्ने रणनीति तयगरि कार्यान्वयनको चरणमा रहेकोछ।
भावी योजनाहरु
आईएनएप ले निकट भविष्यका लागि निम्न कार्यक्रम गर्ने निधो गरेको छ। यीमध्ये केही कार्यहरुको प्रारम्भ पनि भइसकेको छ।
- आईएनएफले नेपालका अस्पतालहरु मार्फत अपांगतामा आधारित विशिष्ट सेवाहरु प्रदान गर्नेछ।
- सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विकट स्थानहरुमा सामुदायिक विकासका कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।
- शून्य कुष्ठरोगको लक्ष्य प्राप्तिका लागि रणनीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
- साइनिङ अस्पताल सुर्खेतबाट कुष्ठरोगका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गरी आवश्यकताअनुसार साईनिङ अस्पताल बाँके र हरियो खर्क अस्पताल पोखरामा प्रेषण गरिनेछ।
- शून्य कुष्ठरोगको लक्ष्यका लागि सरकार, स्वास्थ्य निकाय, समान उद्देश्य रहेका संघसस्थाहरुसँगको सहयोग र साझेदारीमा काम गर्ने, क्षमता अभिवृद्धि गर्ने र जनचेतना फैलाउने जस्ता कार्यहरु गरिनेछ।
- सुर्खेतमा रहेको फिस्टुला सेन्टरको प्रदेश अस्पताल कर्णालीको सहकार्यमा क्षमता अभिवृद्धि गर्ने र अन्त्यमा प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको छ।
- साईनिङ अस्पताल बाँकेलाई कुष्ठरोगको उपचार र पुनर्स्थापना गर्ने नमुना केन्द्रको रुपमा विकास गरिनेछ।
- हरियो खर्क अस्पताल अपांगतामा आधारित ५०० शैयाको विशिष्ट अस्पतालको रुपमा विकास गर्दै लैजाने योजना रहेको छ।
स्वास्थ्य, सामाजिक विकास, विपद व्यवस्थापन जस्ता विभिन्न क्षेत्रमा रचनात्मक सेवा पुर्याउँदै आइरहेको नेपालकै सबैभन्दा पुरानो एैतिहासीक गैह्रसरकारी संस्था आइ एन एफ नेपाल ले यही मंसीर १ गतेका दिन आफ्नो ७१ औं स्थापना दिवस मनाउदै गरेको छ।
-(लेखक यामबहादुर जिसी आईएनएफ नेपाल, पोखरामा कुष्ठरोग कार्यक्रम संयोजकका रुपमा कार्यरत छन्।)