स्तनपान कम बजेटमा मृत्युदर घटाउने सर्वाेत्कृष्ट उपाय हो। शिशु मृत्युदर घटाउनका लागि हामीले ७५ प्रतिशत काम थोरै लगानीबाट पनि घटाउन सक्छौै। नेपाल जस्तो आर्थिक रुपमा कमजोर मुलुकले शिशु मृत्युदर घटाउनका लागि स्तनपान गराउने दर बढाउन सक्नु आवश्यक हुन्छ। पूर्ण स्तनपान गराइएको अवस्थामा ३३ प्रतिशत बाल मृत्युदर घटाउन सकिन्छ। स्तनपानका लागि ठूलो मात्रामा बजेटको आवश्यकता नपर्ने भएपनि हाम्रो देशमा अझै पनि यस प्रकारको अभ्यास गर्न सकिएको छैन। तथ्यांक अनुसार भन्नुपर्दा नेपालमा स्तनपान गराउने आमाहरुको संख्या दिनप्रतिदिन घट्दो क्रममा रहेको छ।
स्तनपान आमा बच्चा दूवैका लागि फाइदाजनक
स्तनपानले आमा बच्चा तथा समाजलाई फाइदा पुग्ने गर्छ। स्तनपान गराउने महिलाहरुमा क्यान्सर तथा ट्युमर हुने जोखिम कम हुन्छ। यसले बच्चाहरुमा हुने विभिन्न प्रकारको इन्फेक्सनको मात्रा घटाउने गर्छ। आधुनिक जीवनशैलीको नाममा स्तनपानले शारीरिक बनोट बिग्रन्छ भन्ने भ्रम आमाहरुमा रहेको हुन्छ। स्तनपान गराउँदा महिलाहरुको शरीर अझै राम्रो हुँदै जान्छ। गर्भावस्थामा धेरै महिलाहरुको शरीरको तौल बढ्ने गर्छ। नियमित स्तनपानले यसरी गर्भावस्थामा बढेको अनावश्यक तौललाई नियन्त्रणमा ल्याउन सहयोग गर्छ। नियमित रुपमा स्तनपान गराउने महिलाहरुमा अन्य कुनै पनि प्रकारको शारीरिक अभ्यास आवश्यक पर्दैन। स्वास्थ्यका अन्य सुचकहरुका आधारमा भन्ने हो भने शिक्षित महिलाहरुको संख्या बढी भएको क्षेत्रमा स्तनपान गराउनेको संख्या पनि बढी हुनुपर्ने हो।
शिक्षित महिला नै गराउँदैनन् स्तनपान
तर स्तनपान गराउने महिलाको संख्याका आधारमा भन्ने हो शिक्षित महिलाहरु बढी भएका क्षेत्रमा नै स्तनपान गराउनेको संख्या कमी रहेको पाइन्छ। त्यसैले स्तनपान नगराउनुमा शिक्षा मात्रै कारक तत्व नभएको अध्ययनले बताउँछ। त्यसका लागि अन्य समस्याहरुको समेत पहिचान भइ त्यसको उचित सम्बोधन हुनु आवश्यक छ। बच्चा जन्मिएको करिब १ घन्टाभित्र नै स्तनपान गराइसक्नुपर्छ। बच्चा जन्मिएको ६ महिनासम्म पूर्ण रुपमा स्तनपान तथा ६ महिनापश्चात् अन्य खानेकुराहरु समेत मिलाएर बच्चालाई खुवाउन सकिन्छ।
नेपालमा स्तनपान परामर्शको कमी
बच्चाले बढी चुसेमा आमाको शरीरमा दूध उत्पादनको मात्रा पनि बढ्दै जान्छ। नेपालजस्तो मुलुकमा सुरुवाती अवस्थामा नै बच्चालाई कम मात्रामा दूध चुसाइने गरिन्छ, जसकारण दूध कम उत्पादन हुने गर्छ। नेपाल जस्तो विकासोन्मुख मुलुकमा स्तनपानका लागि गरिने परामर्शको कमी भएको अवस्था छ। धेरै जस्तो महिलाहरु बिना योजना नै गर्भवती हुने गर्छन्। यद्यपि विकसित मुलुकहरुको कुरा गर्ने हो महिलाहरु योजना बनाएर मात्रै गर्भवती हुने गर्छन्। परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा आइसियूमा भर्ना भएर बसेका आमाहरुले बच्चालाई स्तनपान गराउन नसक्दा तथा धेरै प्रयासमा पनि आमाको दूध नआएको अवस्थामा ह्युमन मिल्क बैंकको माध्यमबाट दूध दिने गरेको छ।
यूरोपमा १ सय वर्ष अगाडि नै मिल्क बैंक स्थापना
यसको अभ्यास पहिलोपटक नेपालमा गरिएको २ वर्ष मात्रै भएको छ। यद्यपि यूरोपियन मुलुकहरुमा भने यसको स्थापना करिब १०० वर्ष अगाडि नै भइसकेको गुनासो छ। छिमेकी मुलुक भारतको कुरा गर्नुपर्दाे करिब ४० वर्ष ह्युमन मिल्क बैंकको स्थापना गरिएको थियो।
भारतको राजस्थानमा डेलिभरीपश्चात् सही रुपमा स्तनपान नभएसम्म अस्पतालले डिस्चार्ज नै नगर्ने नियम रहेको छ। जसले स्तनपानमा सकारात्मक सहयोग गर्छ। स्तनपानको सही तरिका सिक्न तथा सिकाउनका लागि यसले आमा तथा अस्पतालका कर्मचारीहरुलाई समेत बाध्यात्मक अवस्था सृजना गरिदिने गर्छ।
सही रुपमा स्तनपान गराइयो भने केही समयपछि पर्याप्त मात्रामा दूध उत्पादन हुने गर्छ। त्यसैले बच्चा जन्मिएपछि सुरुवाती अवस्थामा सही रुपमा स्तनपान गराउनका लागि आमाहरुलाई सचेत बनाउनुपर्ने हुन्छ। परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा स्थापना भएको मिल्क बैंकमा विगत १४ महिनामा करिब १ हजार आमाहरुले दूध दान गरेका छन्। बैंकमा संकलित दूधबाट हालसम्म करिब ११ सय बच्चाहरुले उक्त मिल्क बैंकबाट सेवा लिइसकेका छन्।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत डा कर्माचार्यसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित