एक बयस्क जोडीले बच्चा पेटमा राख्ने योजना बनाएदेखि वा आमाको पेटमा बच्चा बसेदेखि बच्चा जन्मने समय अवधिसम्मको सम्पूर्ण हेरचाह वा स्याहार-सुसार जसले आमा र पेटमा रहेको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष्य रुपमा सहयोग पुर्याउँछ भने त्यस्तो किसिमको स्याहारलाई पूर्व प्रसूति स्याहार भनिन्छ। पूर्व प्रसूति स्याहारलाई अत्यन्त महत्वपूर्ण विषयको रुपमा लिइएको छ।
जब कुनै दम्पतीले आफ्नो बंशजलाई निरन्तरता दिनको लागि होस् वा आफ्नो चाहना र रहर पूरा गर्ने उद्देश्यका साथ आफूबाट सन्तान जन्माउने सोच बनाउँछन्। त्यसपछि उनीहरु दुवैको सल्लाहले बच्चा आमाको पेटमा बस्नुभन्दा तीन महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आफ्नो स्वास्थ्यको परीक्षण गराई फोलिकएसिड भन्ने औषधि दिनको एक गोलीको दरले बच्चा पेटमा बसेको १२ हप्ता अर्थात् तीन महिनासम्म निरन्तर रुपमा खानुपर्छ।
त्यसपछि निरन्तर उनको खानपानमा विशेष ध्यान दिँदै गर्भ रहेको ९१औं दिनबाट एक गोली जुकाको औषधि खान दिने र निरन्तर रुपमा क्याल्सियम र आइरन एक/एक गोलीका दरले बच्चा जन्मेको ४५ दिनसम्म खान दिनुपर्छ। त्यसका साथै पहिलो गर्भवती महिला भएमा एक महिनाको फरकमा दुई डोज टीडी खोप र दोस्रो गर्भवती भएमा हरेक गर्भमा थप एक डोजको मात्राका आधारले टीडी खोप दिनुपर्छ। त्यसको साथसाथै नियमित रुपमा आठ पटक गर्भको जाँच निम्न अनुसार अनिवार्य गराउनुपर्छ।
१. पहिलो जाँच गर्भ रहेको १२ हप्तामा
२. दोस्रो जाँच गर्भ रहेको १६ हप्तामा
३. तेस्रो जाँच गर्भ रहेको २० देखि २४ हप्तामा
४. चौथो जाँच गर्भ रहेको २८ हप्तामा
५. पाँचौ जाँच गर्भ रहेको ३२ हप्तामा
६. छैठौं जाँच गर्भ रहेको ३४ हप्तामा
७. सातौं जाँच गर्भ रहेको ३६ हप्तामा
८. आठौं जाँच गर्भ रहेको ३८ देखि ४० हप्तामा
पूर्व प्रसूति स्याहारबाट कस-कसलाई फाइदा पुग्छ?
यस प्रकारको नियमित गर्भ जाँचले आमा र बच्चालाई प्रत्यक्ष रुपमा फाइदा पुग्छ भने परिवारका सम्पूर्ण सदस्यहरुलाई समेत पारिवारिक मानसिक सामाजिक र आर्थिक पक्षमा फाइदा पुर्याएको हुन्छ। यसले बच्चालाई उसको महिनाको अनुपातमा हुनुपर्ने वृद्धिविकास शारीरिक तौलको साथै भिडियो एक्सरेको सहायताले त उसको शारीरिक अंग प्रत्येङ्गहरुको समेत अवस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक मानसिक पारिवारिक र सामाजिक अवस्थाको साथसाथै महिनाको अनुपातको गर्भको वृद्धिविकास शारीरिक तौलको वृद्धि र गर्भको सम्पूर्ण अवस्थाको बारेमा जानकारी पाई थप केही सुधार र सचेत रहनु पर्ने कुराहरुमा समेत महत्वपूर्ण जानकारी लिन सकिन्छ।
साथै, गर्भवती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरु दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरुमा समेत पारिवारिक मानसिक सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा पूर्व प्रसूति स्याहारलाई महत्वका साथमा हेरिएको पाइन्छ।
नियमित रुपमा गर्भ जाँच गराउँदा गर्भवती आमालाई स्वास्थ्यको साथमा अन्य फाइदा
नियमित रुपमा आठ पटक गर्भ जाँच गराएमा गर्भवतीलाई स्वास्थ्यको साथमा अन्य फाइदा पनि नेपाल सरकारले व्यवस्थामा ल्याएको छ। गर्भवतीले प्रोटोकल अनुसार वा अनिवार्य आठ पटक गर्भ जाँच गराएमा ८०० रुपैयाँ र सुरक्षित रुपमा बच्चा जन्माउन अस्पताल गएमा गाडी भाडा स्वरुप तराईका जिल्लामा १००० रुपैयाँ, पहाडी जिल्लामा २००० रुपैयाँ र हिमाली जिल्लामा ३००० रुपैयाँ दरले थप गरी अस्पतालमा नै गएर बच्चा जन्माउने आमाहरुलाई दिने र बच्चालाई न्यानो झोला समेत दिने कार्यक्रम समेत रहेको छ। यस कार्यले गर्भवती आमाहरुमा अनिवार्य आठ पटक गर्भ जाँच गराउने र अस्पतालमै बच्चा जन्माउने कार्यमा थप उत्साह र प्रोत्साहन गर्ने गरेको पाइन्छ।
त्यसैले आमा र बच्चाको स्वास्थ्यलाई थप सुरक्षित र जोखिममुक्त गराउनको लागि पनि आठ पटक वा प्रोटोकल अनुसार गर्भ जाँच अनिवार्य गराउनुपर्छ। अनिवार्य रुपमा खानुपर्ने औषधिको सेवन र अस्पतालमै बच्चा जन्माउने कार्यको साथै पूर्व प्रसूति स्याहारमा गर्भवती आमालाई खुवाउनुपर्ने ताजा र पोषिलो खानपानको साथै स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा र विभिन्न सूचनाहरुमा देखिएको ‘हरेक बार खाना चार’ भन्ने भनाइलाई व्यवहारमा प्रयोग गर्नुको साथमा आराम र व्यायामको समेत महत्वपूर्ण भूमिका रहेको पाइन्छ।
अन्त्यमा, समग्र रुपमा भन्ने हो भने सरकारले जति पनि लगानी गरेको छ। त्यसकै आधारमा सेवाग्राहीहरुबाट सेवा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझै पनि कमी पाइएको छ। यसमा जिम्मेवारी कसले लिने त? भन्ने सन्दर्भमा अहिलेको नयाँ संरचना अनुसार वर्गीकरण गरिएको राज्यका तीन वटै तहका निकाय त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधिहरु, प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरुको नङ र मासुको सम्बन्धका साथ हातेमालो गरेर आ-आफ्नो ठाँउबाट देशैभरिको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामूलक सन्देश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा र स्वयं व्यक्तिले नै मेरो स्वास्थ्यको ख्याल म आफैँ गर्नुपर्छ भने मात्र यो कार्यले पूर्णता पाउँछ। र, स्वास्थ्यका सूचकहरु लक्ष्यका आधारमा पूरा हुन्छन्।
त्यस कारणले गर्दा मानव जीवनको सुरुवातीको चरणको पहिलो बिन्दु भनेकै पूर्व प्रसूतिको समयबाट हुने हुँदा यस समयमा एउटा मानवको स्याहार गर्दा दुई वटा आत्मा र शरीरको वृद्धि विकास र स्वस्थताको समेत स्याहार पुग्ने हुँदा यो पूर्व प्रसूति स्याहारको निकै महत्व रहेको पाइन्छ।
-(पोखरेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)