महिलामा पिसाबको संक्रमण हुनु कस्तो खालको समस्या हो? यो समस्यामा कस्ता लक्षण देखिन्छ?
पिसाबको संक्रमणलाई मेडिकलको भाषामा युनिनरी ट्र्याक्ट इन्फेक्सन भनिन्छ। पिसाबको संक्रमण हुँदा देखिने लक्षणहरु भनेको पटक पटक पिसाब लाग्ने, पिसाब पोल्ने, पिसाब निख्रिएजस्तो नहुने देखिन्छ। महिलामा छोटो समयको संक्रमण छ भने यस्तो लक्षणहरु देखिन्छ। तर महिलामा महिनौं वा वर्षौ देखिको संक्रमण छ भने पिसाब चुहिने र अन्य समस्याहरु पनि देखिन्छ। पिसाबको संक्रमण भएको अवस्थामा कहिलेकाँही पिसाबमा रगत समेत देखिनसक्छ। कहिलेकाँही पिसाबको संक्रमणले पिसाब थैलीहुँदै मिर्गौलासम्म संक्रमण पुग्ने गर्छ। यस्तो अवस्थामा बिरामीलाई अत्याधिक ज्वरो आउँछ। अत्याधिक ज्वरो आएमा बिरामीलाई भर्ना नै गरेर समेत उपचार गर्नुपर्ने हुन्छ।
महिलामा पिसाबको संक्रमण के कारणले हुन्छ?
महिलाहरुको पिसाबको नली छोटो हुन्छ। महिलाको पिसाब गर्ने नली र दिसा गर्ने ठाउँ एनल क्यानलको दुरी कम हुने भएकाले पनि पिसाबमा छिटो संक्रमण हुने गर्छ। कुनै पनि कारणले पिसाबको नली ड्यामेज भयो वा त्यहाँको वातावरण केही कारणले परिवर्तन भयो भने शरीरमै भएको ब्याक्टेरियाहरु पिसाब नली मार्फत पिसाब थैलीमा जान्छन्। प्रया पिसाबको संक्रमण हुने कारण हाम्रो शरीरमा हुने आफ्नै ब्याक्टेरियाहरु हुन्। जसले संक्रमण गराउछ।पिसाबमा समस्या देखिनुको मुख्य कारण सरसफाइको कमि हुनु र यौनांगमा संक्रमण हुनु कारण हो। यौनजन्य संक्रमण पछि महिलाहरुमा पिसाबको संक्रमण पनि देखिन्छ। पिसाबको संक्रमणमा पिसाब नली वा पिसाब थैलीको उपचार गरेर मात्र हुदैन।
पिसाबको संक्रमणको संक्रमण देखिएमा महिलाहरुको भजाइना र पाठेघरको मुखमा संक्रमण छ वा छैन हेरेर सोही अनुसार उपचार गर्नुपर्छ। अर्को कुरा सरसफाई गर्ने नाममा अत्याधिक सरसफाइ गर्ने, विभिन्न स्याम्पु, साबुन वा कुनै वस्तुको प्रयोग गर्दा पनि पिसाबको संक्रमण हुनसक्छ। त्यस्ता वस्तुहरुले हाम्रो शरीरमा रहेका राम्रा ब्याक्टेरियाहरुलाई हानिकारक ब्याक्टेरियाले विस्थापित गर्छ र पिसाबमा संक्रमण हुन्छ। त्यस्तै असुरक्षित यौन सम्पर्कका कारण पनि पिसाबमा संक्रमण हुनसक्छ। सुगर सम्बन्धि रोग भएमा पनि पिसाबको संक्रमण हुनसक्छ। यस्तै प्रेग्नेन्सीमा पनि सरसफाइमा विशेष ध्यान दिएन भने पनि पिसाबमा छिटो संक्रमण हुनसक्छ। गर्भवती महिलाहरुमा पिसाबको संक्रमण देखिने समस्या अन्य महिलाको तुलनामा धेरै हुन्छ।
सार्वजनिक शौचालयको प्रयोगले महिलामा पिसाबको संक्रमण बढाउन सक्छ?
पिसाबको संक्रमण हुन नदिन सरसफाइको धेरै ठूलो भूमिका रहन्छ। फोहोर भयो भनेर धेरै सरसफाइ गर्दा पनि धातक छ। कम सरसफाइले नराम्रा ब्याक्टेरिया बढाउने भएकाले झनै घातक छ। सार्वजनिक शौचालयको प्रयोगमा सरसफाइ मेन्टेन भएन भने पिसाबमा संक्रमण हुन्छ। त्यसैले सार्वजनिक शौचालयको प्रयोग गर्दा यसमा पनि ध्यान दिन जरुरी छ।
यौनांगको सरसफाइ गर्न साबुन, स्याम्पु वा अन्य वस्तुको प्रयोग गर्नु ठिक हो वा होइन? पिसाबको संक्रमण हुन नदिन के गर्ने?
अहिले बजारमा यौनांगको सरसफाइका लागि विभिन्न थरिका कमर्सियल सामाग्रीहरु बजारिकरण गरिएका हुन्छन्। कतिपय सामाग्री त यौनांक भित्र राख्ने वा बाहिर सफा गर्ने हुन्छ। कतिपय रिसर्चहरुले यौनांग भित्र राख्ने सामाग्रीले पछि गएर ओभरीको क्यान्सर हुने जोखिम रहन्छ भनेको पनि छ। महिलाहरुको शरीरमा राम्रा ब्याक्टेरिया हुन्छन्। कुनै पनि व्यक्तिको विभिन्न अंगमा हुने राम्रा ब्याक्टेरियालाई बाह्रय तत्वको प्रभावले हानिकारक ब्याक्टेरिया आउने, फंगसहरु हुने समस्या देखिन्छ। जसले शरीरको आन्तरिक बनावट परिवर्तन गर्छ। त्यसैले यौनांगको सरसफाइ गर्दा पनि अत्याधिक रुपमा विभिन्न प्रकारका स्याम्पु, साबुन, वा अन्य वस्तुको प्रयोग गर्दा ध्यान दिनुपर्छ। प्रयोग गर्नुपर्ने अवस्था आएमा चिकित्सकले सिफारिस गरेको अवस्थामा मात्र त्यस्ता सामग्रीको प्रयोग गर्नुपर्छ। जथाभावी रुपमा प्रयोग गर्दा त्यसले झनै समस्या निम्तिन सक्छ।