प्रसिद्ध भारतिय लेखक चेतन भगतको एउटा निकै नै चलेको काल्पनिक उपन्यास छ- 'द थ्री मिस्टेक्स अफ माइ लाईफ'। मैले मेरो कथालाई सोही उपन्यासको शीर्षक 'द थ्री मिस्टेक्स अफ माइ लाइफ' दिएको छु। यो पुस्तकका मुख्य पात्रले आफ्नो जिवनकालमा गरेका ३ गल्तिका बारेमा यस किताबमा चित्रण गरेको पाइन्छ। ती गल्ति भनिएका कुराहरु साच्चिकै गल्तिनै थिए या ति ठिक हुन भन्ने कुराको बहस, आफ्नो आफ्नो बिश्लेशणको कुरा हो, छुट्टै बहस गर्न सकिन्छ। आज मैले द थ्री मिस्टेकस अफ माइ लाइफ लेखिरहँदा निश्चय नै यस्तै हुन सक्छ तर यी नितान्त मलाई लागेका मेरा धाराणा हुन्, भुल भए माफ पाउँ।
पुस्तकको मुलभावमा जाने हो भने ब्यापार्, क्रिकेट र धर्मको सिमामा रहेर गरिएका (आआफ्नो धारणा) कुराहरुलाई गल्ति मानिएको छ। काल्पनिक कथामा गोविन्द मुख्य पात्र हुन्। भूकम्पका कारण उनले खोलेको पसल नष्ट हुन्छ जसमा ठूलो रकम लगानी हुन्छ, आफ्नै साथीको बहिनीसँग उनी प्रेममा पर्छन अनि उदाउँदा क्रिकेटरको हात उनकै सुस्त प्रतिक्रियाका कारण दंगामा घाइते हुन्छ। अब मेरो कथाको मुख्य पात्र म र मेरा तीन गल्तीहरूको बारेमा केही कुरा लेख्न गइरहेको छु। मेरा ३ गल्ती यस प्रकारका छन।
एमबीबीएस पढ्न विदेश जानु: यस्ले एमबीबीएस पढेछ भन्ने बित्तिकै अरुले केही भनुन् नभनुन्, आजको समयमा एमबीबीएस पढिरहेका र पढिसकेका धेरैले यसले गल्ति नै गरेछ भन्ने सोच्नेछन्। तत्कालिन समयमा नेपालमा एमबीबीएस पढ्न निकै नै महँगो र पढाइको सम्पूर्ण शुल्क पहिलो र दोश्रो किस्तामा दोश्रो वर्षमा नै पूर्णरुपमा बुझाउनुपर्ने हुन्थ्यो। त्यसमाथि त्यो समयमा अन्डर द टेबल अतिरिक्त शुल्क बुझाउनुपर्ने चलन ब्याप्त थियो। कक्षाकोठाको हरेक कुरामा अब्बल भएको हैसियतले एमबीबीएस पढ्नैपर्ने बाध्यकारी अवस्था पनी थियो मेरो।
गल्ति त त्यतीबेला नै भईसकेको रहेछ अन्जानमै। आर्थिक स्थिति न्यून मध्यम वर्गीय, नेपाली समाजमा हुर्केको यो ज्यानलाई आफ्नै देशमा पढ्नुभन्दा अर्काको देशमा पढेर फर्किंदा आर्थिक भार कम हुने दुःखद सत्यतालाई आत्मसात् गर्दै गरिएको कटु निर्णय थियो। तत्कालीन समयमा विदेशबाट एमबीबीएस गरेर आउने सम्पूर्ण विद्यार्थीहरूलाई निरुत्साहन स्वरूप नेपालका लगभग सम्पूर्ण राष्ट्रिय दैनिक पत्रपत्रिकाले बङ्गलादेश फिलिपिन्स र चीनबाट पढेर आउने चिकित्सकहरूको मज्जाले खेदो खन्थे। समय बलवान छ र समय परिवर्तनशील छ। आज तिनै पत्रपत्रिकाले आफ्नो टिआरपी बढाउन तिनै देशबाट फर्केर आएका चिकित्सकहरूको अन्तर्वार्ता दिनहुँ प्रेसित गर्छन्।
आज नेपालका अधिकांश अस्पतालमा कार्यरत विशिष्ट चिकित्सकहरू त्यही पृष्ठभूमिबाट आएका छन्। देशको विभेदपूर्ण नीति र सीमित अवसरका कारण यती विघ्न देशमै पढ्न र बस्न लालायित युवाहरू विदेश किन गए, किन गइरहेका छन् जान्न जरुरी छ। तर यसको मूल्याङ्कन गर्ने संयन्त्र अझै बनिसकेको छैन। हामी अझै २०१६ को बीपी कोइरालाको दोषी चस्मा लगाएर बसेका छौं। सरकारले प्रदान गरेको छात्रवृत्तिबाट लाभान्वित कैयौं युवा आज विकसित देशको दासका रुपमा कार्यरत छन्। यसको लेखाजोखा छैन।
हातमा गन्न सकिने चिकित्सक मात्र अहिले नेपालमा छन्। अहिले नेपालको स्वास्थ्य सेवा चलेको छ त केवल ती अवसर गुमाएर बाध्यतामा परेका युवा डाक्टरहरुबाट। ती विद्यार्थीलाई नेपालमा अवसर नपाएर डाक्टरी पढ्न विदेशिएका हुन् भनेर कहिल्यै भनिएन। सम्पूर्ण दोष विद्यार्थीमा मात्रै थोपरियो। विद्यमान समयमा मेडिकल माफिया र सरकारको पासोमा परेका इमान्दार विद्यार्थीहरूको भविष्य यो देशले खोस्यो। म भाग्यले खोसेको र देशले नपत्याएको एक विदेशी डाक्टर थिए।
ग्रामीण स्वास्थ्य सेवाको परिकल्पना: त्यो समयमा सहरमा अझै भनौं काठमाडौँ उपत्यकामा लगभग सम्पूर्ण अस्पतालमा मेडिकल अधिकृतको तलब करिब २० हजारको हाराहारीमा थियो। एउटा मेडिकल अधिकृतले सजिलै दुईवटा अस्पतालमा काम गर्न सक्थ्यो र उसको तलब ३०-४० हजार थपघट हुन्थ्यो। यस्तो समयमा सहरको विलासितालाई त्याग गर्दै ग्रामीण स्वास्थ्य सुधारबाट मात्रै समग्र देशको स्वास्थ्य सेवामा सुधार हुन्छ भन्ने अभिप्रायकासाथ म बल जफत तरिकाले ग्रामीण स्वास्थ्य सेवा प्रणालीसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पुगेँ। जुन मेरो दोस्रो गल्ती बन्न पुग्यो। औषधि उपकरणको अभाव त छँदै थियो म काम गर्ने प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारी दरबन्दी अन्तर्गत एक चिकित्सकको अनिवार्य उपस्थिति हुनुपर्ने थियो।
नेपाल सरकारको दरबन्दी अनुसार म काम गर्ने अस्पतालमा एक अनिवार्य आवासीय र अर्को एक चिकित्सकको दरबन्दी थियो। तर मेरो डेढ वर्षको त्यस पिएचसीको बसाइमा सरकारी दरबन्दीका चिकित्सक लगातार १० दिन बस्नुभएन। उहाँहरु दुई वर्ष कार्यकाल सकेर कि त विदेश जाने कि त लोकसेवामा लडेर सहरकै हाकिम भएर बस्ने संकल्पबाट कहिले अलग हुन सक्नुभएन। त्यो उहाँको गल्ती पनि होइन। आज मसँगै त्यहाँ काम गर्ने चिकित्सकहरू एकजना सरकारी हाकिम भएर सुगममा हुनुहुन्छ र अर्को दुईजना नेपाल सरकारको छात्रवृत्ति पचाएर विदेशमा हुनुहुन्छ। यसबाट खेर गएको राज्यको लगानी र बेअर्थपूर्ण नीति उदाङ्गो हुन्छ।
त्यो ठाउँमा म परिवर्तनको सूत्रधार बन्न तम्सिएर गएको थिए, तर थाहै नपाई समयले मलाई नै परिवर्तन गरायो। त्यो ताका निकै नै पानी चढाउन आउनेको घुइँचो हुने गर्दथ्यो। सलाइन चढाउने आइभी सेटको चाङ थियो निडिलसहित। म त्यहाँ सधैं उपलब्ध हुने भएपछि मैले १०-५ ओपिडी सेवा सञ्चालन गरे र सो समयमा अत्यावश्यक बाहेक अरुलाई पानी चढाउन दिइन। आम्दामी कम हुने देखेपछि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सीअहेबले मेरो खेदो खन्नुसम्म खन्नुभयो। जिल्लाका हाकिमले समेत फोन गरेर, “तपाईं त पाहुना हो स्वास्थ्य केन्द्र यथास्थितिमा चलाउन दिनुस् “ भनेर दबाब दिनुभयो तर मैले पानी चढाउने कार्य बन्द गरे।
धेरै बिरामीहरू अनावश्यक पानीबिना घर फर्किए तर उनीहरूले दुःख गरेर कमाएको पैसा पनि उनीहरूसँगै फर्कियो। त्यो समयमा मैले पहिलो पटक आक्षभी क्यानुला प्रयोग गरेँ। सबै आश्चर्यचकित भए। त्यो निडिल सहितको आइभी सेटकोको निरन्तर प्रयोगबाट सर्न सक्ने सरुवा रोगको रोकथाम मात्रै थिएन। बरु अझ सजिलो र प्रभावकारी पनि थियो।
अहिले मैले त्यहाँ काम गर्न छोडेको लगभग १५ वर्ष भयो। आजकाल खै के गर्छन्? तर मैले म रहँदासम्म एउटै निडल दुईजनामा प्रयोग हुन दिइन र अनावश्यक पानी चढाउन दिइन त्यसलाई म आफ्नो उपलब्धि सम्झन्छु। दोस्रो गल्ती त गरिसके मन न हो लाग्यो स्वास्थ्य सेवामा सुधार ल्याउने हो भने स्वास्थ्य शिक्षामा प्रवेश गर्ने मुलुकका विद्यार्थीहरूलाई वर्तमान स्वास्थ्य समस्याका बारेमा पढाउन सक्यो भने सम्पूर्ण स्वास्थ्यका समस्याहरु समाधान हुनेछन्। त्यसैले मैले मूल जडमा गएर केही गर्ने जमर्को गरे। त्यसैले एमबीबीएस गरेर बेसिक साइन्स पढ्ने तेस्रो गल्ती गरे।
एमबीबीएस गरेर बेसिक साइन्स पढ्ने: साथीले भन्दै थियो, “हेर भाइ एमबीबीएस पढेर बेसिक साइन्स पढ्नु भनेको घरमा जर्मन सेफर्ड पालेर आँची खुवाउनु जस्तै हो।“ जर्मन शेफर्ड भन्ने कुकुरको योग्यता बुझेर उसले यस्तो भनेको हुनुपर्छ तर म एक मनुष्य हुँ। दिमाग छ, सोच विचार गर्न सक्छु र मलाई स्वास्थ्य सेवा प्रदान गर्ने भोलिका स्वास्थ्यकर्मीहरुलाई जरामै समातेर सचेत गराउनु थियो। म होमिए बेसिक साइन्समा। काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक निजी मेडिकल कलेजमा भर्ना भएर गएपछि कलेजो फुट्यो।
देशमा जनशक्ति अभावको बहाना देखाएर सीमित शोषक सामन्ती वर्गले दन्त चिकित्सा पढेका दन्त चिकित्सकहरुलाई तीन चार महिनाको सेतु कार्यक्रम (ल्याएर बेसिक साइन्स पढ्न अनुमति दिएका रहेछ। सो कार्यको सुरुवात गर्ने बीपी प्रतिष्ठानलाई अनुसरण गर्दै पूर्ण नाफामुखी काठमाडौँ विश्वविद्यालयले पनि यस्तै कार्यक्रम गर्दै रहेछ। निश्चय नै देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयको मूलभूत कार्य हो। तर सीमित व्यक्ति र वर्गको स्वार्थका लागि गरिने यस्ता निर्णयहरू निश्चय नै भविष्यमा देशका लागि घातक हुनेछन्।
बिहान बेलुका आफ्नो निजी दन्त क्लिनिक चलाउने र पार्टटाइमका रूपमा बेसिक साइन्स पढाउनेको जमात अहिले निकै नै ठूलो छ। बेसिक साइन्सलाई एमबीबीएसको मेरुदण्ड मानिन्छ। मेरुदण्ड कमजोर बनाउने यस्ता निर्णयहरूले गर्दा नै नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा धेरै फेल भएको समाचार आइरहन्छ।
यस्तै भएर होला महाराजगंज मेडिकल क्याम्पसले बेसिक साइन्समा बीडिएस एमडी भएकाहरूलाई स्थान दिँदैन। काठमाडौँ विश्वविद्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त दिन नै पर्यो आफ्नो स्वार्थका लागि गरिएको गल्तीले कति मेडिकल विद्यार्थीहरु घाटामा परे। यसको मतलब यो होइन कि एमडीएस एमडी ब्याकग्राउन्डबाट आएका सम्पूर्ण नाराम्रा नै छन् तर धेरैजसो हुनुपर्ने मापदण्ड भन्दा निकै नै तल्लो तहमा छन्। अहिले आएर चिकित्सा शिक्षा आयोगले सो गल्तीले गर्दा देशको स्वास्थ्य शिक्षाको खस्किँदो स्थितिलाई मध्यनजर गर्दै सो कार्यक्रमलाई नै खारेज गरिदिएको छ। यो बाहेक मेडिकल कलेजका साहुहरूले शिक्षक मात्रै को दर्जा दिँदै निम्न स्तरीय मजदुरको झैँ व्यवहार गर्ने प्रवृत्ति निकै नै मौलाउँदो छ।
सधैँ नेपाल नै बस्ने सोच राख्ने म अहिले विदेशको कुनै ल्याब्रोटरीमा रिसर्च असिस्टेन्टको रुपमाकार्यरत छु। मैले देशको स्वास्थ्य शिक्षा सुधार्न सकिन यो मेरो गल्ती हो।