सुर्खेतमा निजी लगानीमा सञ्चालित सबैभन्दा ठूलो अस्पताल हो कर्णाली केयर इन्टरनेशल हस्पिटल तथा रिसर्च सेन्टर। गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता दिँदै सञ्चालनमा आएको उक्त अस्पताल ५० शय्या क्षमताको छ। अस्पतालका निर्देशक दिपक गौतमसँग स्वास्थ्यखबरले गरेको कुराकानीः
कर्णाली केयर अस्पताल कहिलेदेखि कसरी सञ्चालनमा आएको हो?
कर्णाली केयर अस्पताल सञ्चालनमा आएको तीन वर्ष भएको छ। म अध्ययनको शिलशिलामा अस्ट्रेलियामा थिएँ। अष्ट्रेलियाबाट फर्केको केही समयपछि कर्णाली प्रदेशका नागरिकका लागि हुने केही काम गरौं भन्ने लागिरहेको थियो। सो क्रममा कर्णालीका चिकित्सकहरु डा नवराज केसी, डा रुपक कँडेल र डा सुरेन्द्र बस्नेतसँग पनि कुराकानी भयो। त्यसपछि कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यसहित यो अस्पताल सञ्चालनमा ल्याएका हौँ। २०७८ साल वैशाख २३ गतेदेखि हामीले आधिकारिक रुपमा ५० शय्याको अनुमति पाएका थियौं।
जुन अवधारणा अनुसार अस्पताल सञ्चालनमा आएको थियो, त्यसलाई पछ्याउन सक्नु भएको छ?
कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसक्दा यहाँका मानिसहरु अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने मुख्य लक्ष्यका साथ सुर्र्खेतमा यस अस्पताल सञ्चालनमा ल्याइएको हो। सोही अनुसार हामी अगाडि बढीरहेको अवस्था छ। यहाँका नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न हामी धेरै सफल भइरहेका पनि छौं। अस्पतालबाट सेवा दिनुका साथै हामीले कर्णाली प्रदेशका कालिकोट, दैलेख, जाजरकोट, अछाम, जुम्ला जस्ता पछाडि परेका क्षेत्रहरुमा समय समयमा विभिन्न प्रकार स्वास्थ्य शिविरहरु गर्दै आएका छौं। सडक दुर्घटना भएर भारतको लखनाउ गएका केशहरु समेत सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा पाइने भएकोले आजभोली हाम्रो अस्पतालमा आउने गरेका छन्।
हाल अस्पतालमा बिरामीको चाप कस्तो रहेको छ?
सुर्खेतका अन्य अस्पतालको तुलनामा हामीकहाँ बिरामी संख्या बढ्दो छ। नजिकैको दुरीमा प्रदेश अस्पताल रहँदा समेत दैनिक हामी कहाँ डेढ सयको संख्यामा बिरामीहरु ओपिडीमा आउने गरेका छन्। हामीले अस्पताल स्थापना गरेदेखि सुर्खेतका अन्य स्वास्थ्य संस्थाहरुलाई समेत अस्पताल भनेको सफासुग्घर हुनुपर्छ, सहज रुपमा सेवा पाउने र बिरामीलाई प्राथमिकता राख्दै सेवा प्रवाह गर्नुपर्छ भन्ने विषयहरु सिकाउन सकेको अवस्था छ। यस अस्पताल सफा तथा चिटिक्क देखेकै कारण कतिपय अस्पतालहरुले हाम्रो सिको समेत गरेका छन्।
हामीले मुख्यतया अर्थाेपेडिक, बाल, महिलाका समस्यालाई बढी प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेका छौं। यद्यपि हामी प्रचारमुखी भन्दा पनि सेवाको गुणस्तरीयतालाई ध्यानमा राखेर काम गरिरहेका छौं। आफूले भन्दा पनि सेवा पाउने व्यक्तिले नै हाम्रो प्रचार गरुन् भन्ने हाम्रो चाहना पनि हो।
नजिकैको दुरीमा प्रदेश अस्पताल छ, तपाईंहरुले प्रदेश अस्पतालभन्दा कसरी फरक सेवा दिनुहुन्छ?
हाम्रो अस्पताल दुर्गम क्षेत्रमा नै रहेको छ। प्रदेश अस्पतालमा जति धेरै सेवा विस्तार हुन्छ त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा हामीलाई पनि हुन्छ। प्रदेश अस्पतालमा आउने विशेषज्ञ चिकित्सकहरुले कार्यालय समयपछि हाम्रो संस्थामा सेवा दिनुहुन्छ। बिरामीले विशेषज्ञ चिकित्सकहरुबाट सहज रुपमा सेवा लिन पाउँछन्। प्रदेश अस्पताल सरकारी अस्पताल हो। हामी उक्त अस्पतालको प्रतिस्पर्धी होइन। निजी संस्था भएकाले हाम्रोमा सेवा लिन आउनेले कम भिडभाडमा सहज रुपमा सेवा लिन पाउँछन्। हामीले अस्पतालमा विशेषज्ञ सेवाहरु थप गर्दै लगेका छौं। भर्खरै यूरोलोजीको अध्ययन पूरा भएका चिकित्सक आउनुभएको छ। त्यस्तै कार्डियो, ग्यास्ट्रो लगायतका अध्ययन गरेका चिकित्सकहरु समेत हाम्रो अस्पतालमा उपलब्ध हुने अवस्था छ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि चिकित्सकसँगै ल्याब तथा उपकरणहरुको उपलब्धता समेत महत्वपूर्ण मानिन्छ, यस्ता कुराहरुमा अस्पतालको अवस्था कस्तो छ?
हामीले प्रदान गर्ने ल्याब रिपोर्ट विश्वसनीय छ। काठमाडौंका महँगो तथा गुणस्तरीय मानिने अस्पतालका ल्याबदेखि ल्याब सेवा मात्र प्रदान गर्नहरुको सेवा जस्तै विश्वसनीय सेवा हामीले प्रदान गरिरहेका छौं। राष्ट्रिय स्तरसँग मात्रै नभई भारतको नयाँ दिल्लीमा पाइने तथा स्तरीय ल्याब सेवा हामीले स्थानीय स्तरमा नै प्रदान गरेका छौं। कर्णालीको निजी अस्पतालमा प्याथोलोजिष्ट सेवा प्रदान गर्ने पहिलो अस्पताल कर्णाली केयर अस्पताल हो। हामीसँग अन्तर्राष्ट्रियस्तरको ल्याबका उपकरण तथा प्रविधीहरु समेत छन्। हामीसँग ३ जना रेडियोलोजिष्ट रहेका छन्। रेडियोलोजीको उपकरणमा भिडियो एक्सरे मेसिन, ३२ स्लाइसको सिटिस्क्यान मेसिन, इन्डोस्कोपी मेसिन समेत हामीसँग रहेका छन्।
अस्पताल सञ्चालनको क्रममा के कस्ता चुनौतीहरुको सामना गर्नुपरेको छ?
एक त हामी कर्णालीमा छौं। अर्काे यहाँका मानिसहरु स्वास्थ्य उपचारका लागि भारत जाने क्रम अझै पनि बढी नै छ। त्यसलाई केही हदसम्म रोक्न भने सकेको अवस्था छ। चुनौतीहरुलाई चिर्दै अगाडि बढेको अवस्था छ। चुनौतीलाई हामीले अवसरका रुपमा लिने गरेका छौं। हाम्रो अस्पतालमा दैलेख, कालिकोट, अछाम लगायतका स्थानबाट बिरामीहरु आउने गरेका छन्। दुर्गम क्षेत्रका मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ हामीले सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिहेका छौं ।
अनुभवी चिकित्सकहरुले दिने ओपिडी स्वास्थ्य सेवामा हामीले ४५० रुपैंया मात्रै लिने गरेका छौं । बेडमा राखेर उपचार गर्नुपर्दाे हामीले ५ सय रुपैंया शुल्क लिने गरेका छौं। चिकित्सकबाहेक अस्पतालमा विभिन्न विभागमा गरी कूल ८४ जना जनशक्ति कार्यरत छन्। हामीले नेपाल सरकारले बनाएको मापदण्ड अनुसारको तलब प्रदान गर्दै आइरहेका छौं।
हालसम्म अस्पतालमा सञ्चालनमा कति लगानी गर्नुभएको अवस्था छ?
हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।
अन्त्यमा समग्र कर्णालीवासीहरुलाई के सन्देश दिन चाहनुहुन्छ?
कर्णालीका नागरिकको उपचारको भरोसाको केन्द्र कर्णाली केयर अस्पताल हो। अस्पतालमा आउने बिरामीको सहज रुपमा गुणस्तरीय उपचार सेवा दिने नै हाम्रो प्रमुख उद्देश्य हो। यसका साथै हामीले सामुदायिक उत्तरदायित्वको भावनाले कर्णाली प्रदेशमा हुने विभिन्न प्रकारका सार्वजनिक कार्यक्रमहरुमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं। त्यस्तै कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुमा हामीले समय समयमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं। यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सेवा लिनका लागि कर्णालीवासीहरुलाई म अनुरोध गर्न चाहन्छु।