गोलबजार- सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु गरिएको छ । नगरपालिकाले आगामी पाँच वर्षभित्र बोदेबर्साइनलाई क्षयरोगमुक्त बनाउने गरी काम अगाडि बढाएको जनाएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक ऐएबु राइनले सरकारले सप्तरीका दुई स्थानीय तह कञ्चनपुर र बोदेबसाईन नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेअनुसार आफ्नो पालिकाले अभियान सुरु गरेको बताए। स्थानीय साधनस्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि कठिनाइ भए पनि पाँच वर्षीय योजना बनाएर काम गर्न थालिएको उनले बताए। सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने अभियानअन्तर्गत नगरपालिकाले वडा नं ९ देउरी गाउँबाट गत जेठ ३२ देखि अभियान सुरु गरिएको हो ।
क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगरउपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समिति गठन गरी काम सुरु गरिएको छ। कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घरधुरी सर्भेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सूक्ष्म योजना बनाएर स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायत काम थालेको जनगरपालिकाले जनाएको छ।
क्षयरोगमुक्त बनाउने अभियानअन्तर्गत यस नगरपालिकाले वडास्तरमा रहेका टोलमा स्वयमंसेविका परिचालन गरी धूमपान, मद्यपान गर्ने घरमा वा वरपर पहिल्यै क्षयरोगको उपचार गरेका, खोकी लागिरहने, लामो समयसम्म श्वासप्रश्वास, दमको औषधि खाइरहेका, खान मन नलाग्ने, दुब्लाउँदै गई तौल कम भएका, ज्वरो आइरहने आदि लक्षण भएका जोखिमपूर्ण समूहका व्यक्तिलाई पहिचान गरी उपचारको कामसमेत सुरु भएको छ ।
बोदेबर्साइन नगरपालिकामा क्षयरोगमुक्त पालिका घोषणा अभियान तथा घरदैलो कार्यक्रम अहिले वडा नं ८, ९ र १० मा चलिरहेको र वडा नं ९ देउरीमा ९१ जनाको खकारको नमुना दिएकामा ५० वटा नमुना परीक्षण गर्दा आठ जनामा क्षयरोग देखापरेको स्वास्थ्य संयोजक एवं जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरले बताए। “अहिले वडास्तरमा गएर सम्भावित जोखिम आँकलन र नमुना संकरन तथा परीक्षणको काम सुरु गरेका छौँ । लुकेर बसेका क्षयरोगी पत्ता लागेमा बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्यावस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने भएकाले सोहीअनुसार सचेतनासमेत दिइरहेका छौँ”, ठाकुरले भने।
यो अभियानपछि आर्थिक अभावका कारण रोग परीक्षण गर्न नपाएकाहरु लाभान्वित भइरहेका छन् । बोदेबर्साइन नगरपालिका–८ काचनका राजकुमार दासले नगरपालिकाले क्षयरोग पत्ता लगाउने घरदैलो अभियान सञ्चालन गरेपछि गरिबीका कारण जचाँउन नपाएकाकाहरु उपयोगी हुने बताए।