काठमाडौं– स्वास्थ्य मन्त्री प्रदीप यादवले आफू अनुगमनमा गएको नगर अस्पतालमा नगरका मेयर नआएको भन्दै संसदमै असन्तुष्टि पोखेका छन्।
बुधबार स्वास्थ्य तर्फको बजेटबारे सांसदहरुबाट आएको प्रश्नहरुको जफाव दिने क्रममा उनले चितवनको भण्डारामा रहेको नगर अस्पतालको अनुगमनमा जाँदा त्यहाको मेयर नआएको भन्दै असन्तुष्टि जराए।
‘हामी चितवनको भण्डारामा गएका थियौ। त्यहाँ अनुगमनमा जाँदा नगर अस्पताल पनि हेरौं, वडामा रहेका हेल्थ पोष्टको अवस्था पनि हेरौं, आधारभूत अस्पताल पनि हेरौं, हामी गयौ, मेयरसाब आउनु भएन,’ उनले असन्तुष्टि व्यक्त गरे, ‘मेयरसाब नआउने अनि लिष्ट चाँही यति माग्ने, अनि आफु त्यहा केही नहेर्ने, १० लाखको लागि त्यहाको डाक्टरहरुले सेवहरु रोक्नुभएको थियो।’
स्वास्थ्य मन्त्री प्रदीप यादवले प्रदेश र स्थानीय तह अन्तर्गतको अस्पतालहरुको प्रदेश र स्थानीय तहबाटै अनुगमन हुने व्यवस्था गरिएको भएपनि सबै संघले नै हेर्नु परेको टिप्पणी गरे।
उनले भने, ‘प्रदेशको पनि अस्पताल छ, जिल्ला पनि अस्पताल छ, नगरको पनि अस्पताल छ, संघको पनि अस्पताल छ, तर सबै अस्पताल अब संघले नै हेर्दिनुपर्ने? ठिक छ संघले उपकरण दिन्छ, डाक्टर पठाइदिन्छ प्रदेशमा, प्रदेशले त्यहाँ डाक्टर पठाउने हो, तर त्यहाँको अभिभावकत्व कस्ले लिने त ? हेल्थ पोष्टको अभिभावकत्व कस्ले लिने? नगर अस्पतालको अभिभावकत्व कस्ले लिने? जिल्ला अस्पतालको अभिभावकत्व कस्ले लिने?’
स्वास्थ्य मन्त्री यादवले स्थानीय तहको मेयर तथा पालिकाका अध्यक्षहरुले स्थानीय तहको अस्पतालहरुमा ध्यान दिनुपर्ने बताए। उनले तीनै तहका सरकारले ध्यान दिएमात्र अस्पतालहरुको समस्या दीर्घकालिन रुपमा समाधान हुने बताए।
मन्त्री यादवले प्रदेश र स्थानीय तहलाई प्रदेश तथा स्थानीय तहको जनशक्ति व्यवस्थापनको अधिकार भएको भन्दै सो अधिकार प्रयोग गर्न पनि सुझाब दिए।उनले निशुल्क औषधिहरु स्थानीय तहबाटै प्रदान हुने व्यवस्था गरेकाले त्यसका लागि पनि बजेट स्थानीय तहमै जाने गरेको बताए।