काठमाडौं- सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेले पाएका छन् । नेपाली हेल्थ डटकमका सम्पादक उनलाई स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्य योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो ।
वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा उक्त पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरिएको छ। ३३ हजार ३३३ रुपैयाँ राशीको पुरस्कार शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई हस्तान्तरण गरिएको हो।
उक्सत कार्यक्रमममा न्यौपानेलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा प्रदान गरेका हुन्।
उक्त अवसरमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले पत्रकारको एक वाक्यले लाखौंको ज्यान जोगिने बताए। स्वास्थ्य क्षेत्रमा कलम चलाउँदा संवेदनशील हुनुपर्ने बताउँदै थपे, 'चिकित्सकको प्रेस्क्रिप्सनबाट एकजना निको हुन्छ। पत्रकारको एक वाक्यबाट सयौं निको हुन्छन्।'
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा देवकोटाले आफ्नो पिता पत्रकार भएकाले यो पेशाको महत्व बुझ्न पाएको बताइन् । ‘आज म छु बुबाकै कारण छु , उहाँले पत्रकारिता देश र समाजका लागि अपरिहार्य रहेको हामीलाई महशुस गराएर जानुभयो । त्यसैले उहाँको सम्मानमा हामी छोराछोरीले पत्रकारितासँग कुनै न कुनै रुपमा जोडिएका हौँ ‘ उनले भनिन्।
कार्यक्रममा पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्राडा संगिता भण्डारीले फाउण्डेशन र मञ्च मिलेर गरेको काम उदाहरणीय बताइन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले फाउण्डेशन र मञ्चको सहकार्यलाई अन्तराष्ट्रिय रुपमा पनि लैजान सकिने उल्लेख गरिन्।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यमा फाउण्डेशनसँग सहकार्य गरिएको बताउँदै भविष्यमा यसको दायरा अझ फराकिलो बनाएर अघि बढ्ने बताए।