काठमाडौं- बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौंले आयोजना गरेको ‘औषधिजन्य जडीबुटीमेला’ असार ८ गते शनिबार सम्पन्न भएको छ।
जडीबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार मेला आयोजना गरिएको हो।
कार्यक्रममा औषधिजन्य जडीबुटीको साथै पथ्य आहारको प्रदर्शनीसमेत रहेको थियो। सो मेला १५०० नागरिकहरूले अवलोकन गरेका थिए। यसै मेलामा वनस्पति विभाग अन्तर्गतका राष्ट्रिय हर्बेरीयम विभाग, अन्नपूर्ण अनुसन्धान केन्द्र ,जडीबुटी प्रशोधन केन्द्रहरू लगायत रैथाने किसान,अन्तर्राष्ट्रिय निकायहरूको प्रदर्शनी रहेको थियो।
कार्यक्रम उद्घाटन सत्रको प्रमुख अतिथि स्वास्थ्य तथाजनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले नेपाल सरकारले औषधिजन्य जडीबुटीलगायतका विषय समेटेर आयुर्वेद क्षेत्रको रणनीति बनाउने कुरामा जोड दिए। साथै औषधिजन्य जडीबुटीको लागि छुट्टै प्राधिकरणको औचित्यको बारेमा सकारात्मक रहेको र अगामी वर्षको नीति तथा कार्यक्रममा प्राथमिकताकासाथ यसको औचित्यको बारेमा बहस मन्त्रालयले गर्ने विषयसमेत उल्लेख गरे।
जडीबुटी प्रयोग पहिल्यैदेखि भएपनि आयुर्वेदको आशातीत विस्तार हुननसकेको उनको भनाई छ। ‘आयुर्वेदको विस्तार सोचेजति हुन सकेको छैन। यसमा मन्त्रालयबाट सहयोग रहन्छ नै,’ सचिव देवकोटाले भने, ‘आगामी वर्ष आयुर्वेदको सेवासाथ साथै जनशक्ति विस्तार गरिनेछ। बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका प्रमुख डा दीपक तिवारीले बागमती प्रदेशले आयुर्वेदको विस्तार गर्दै जिल्लाका स्वास्थ्य केन्द्रहरूलाई चिकित्सालयको रूपमा स्तरोन्नति भईसकेको बताए।