काठमाडौं- आधुनिकताका नाममा बालबालिका एवं किशोरकिशोरी लागुऔषध दुर्व्यसनमा फस्नेक्रम वृद्धि भएकाले यसविरूद्ध जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ।
लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले ‘द सेलिब्रेसन कोएडको’ सहयोगमा एक कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रममा सहभागी शिक्षक एवं अभिभावकले ‘मोबाइल गेम’ र ‘भेप’ को दुर्व्यसनबाट बालबालिका एवं किशोरकिशोरीलाई बचाउनुपर्नेमा जोड दिएका छन्।
‘मोबाइल गेम’मा बालबालिका र किशोर किशोरीलाई रु एक सयसम्म जिताउने र नियोजित तरिकाले हार्न लगाइ गुण्डा लगाएर पैसा असुल गर्ने जस्ता घटना बढ्न थालेको अभिभावकको भनाइ थियो।
यस्ता विषयमा नियमनकारी निकायले ध्यान दिनुपर्ने उहाँहरुको सुझाव छ। कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँलले जिम्मेवार निकाय र समुदायले सामूहिकरुपमा यस्ता विषयमा अभियान चलाउनुपर्ने बताए।
शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले लागुपदार्थ दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध कानुन भए पनि सहीरुपमा कार्यान्वयन नहुँदा समस्या विकराल बन्दै गएको बताए।
प्रहरीको तथ्यांकमा लागुपदार्थ प्रयोग र ओसारपसारका घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै उनले कतिपय घटनामा प्रहरीको मिलेमतो रहेको आरोप लगाए।
कार्यक्रममा शान्ति समाजका पूर्वसभापति उत्तम पुडासैनी, द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराई, सहायक प्रधानाध्यापक सागर दाहाल, शान्ति समाजका काठमाडौं सभापति भगवान् पुडासैनीलगायतले सामुदायिक एवं संस्थागत विद्यालय र नागरिक संस्थाबीच समन्वयात्मकरुपमा अभियान सञ्चालन गर्नुपर्ने बताए।
प्रत्येक वर्ष २६ जुनका दिन यो दिवस मनाइन्छ। सन् १९८७ को १७ देखि २३ जुनसम्म अष्ट्रियाको भियनामा सम्पन्न लागुऔषध दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले यससम्बन्धी महत्वपूर्ण दुई दस्तावेज ग्रहण गरेको थियो। त्यसै सम्मेलनले सिफारिस गरेअनुसार यो दिवस मनाउन थालिएको हो।
सम्बन्धित विषय: