काठमाडौं- मुलुकभर भइरहेको बाढी पहिरोलगायतका विपद्को बिषम परिस्थितिमा सतर्क रहन नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ।
यस वर्ष विगतका वर्षहरूभन्दा वर्षाको सम्भावना उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको जानकारी गराउँदै नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीका साथै सतर्कता अपनाउन अनुरोध गरेको हो।
पूर्वतयारीसहित प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुहुन र प्रभावित जिल्लाहरुमा उद्धार तथा सहायताका सामग्रीहरु वितरणमा संलग्न हुन समेत सोसाइटीका प्रदेश, जिल्ला र उपशाखाहरु अनुरोध गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रले विज्ञप्ती जारी गर्र्दै निर्देशन समेत दिएको छ।
उच्च मानवीय सहायताको आवश्यकता खड्किएको विपदको अवस्थामा नेपाल रेडक्रस सोसाइटी जस्तो परोपकारी संस्थालाई सहयोग गर्न नेपाल सरकारका सम्बद्ध मन्त्रालय तथा विभाग, प्रदेश र स्थानीय सरकार तथा दातृ एवम् साझेदार निकायहरूलाई आवश्यक सहयोगका लागि अपिल गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले बताए।