काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन्। उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताईन्। उनले स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने बताईन्।
उनले भनिन्– ‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस्। कापिँरहेको हातले उपचार गर्न सक्दैनँ । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन। जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ। त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन्। उपचार गर्ने व्यक्ति हुन्। उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ।'