काठमाडौं- डा गाेविन्द केसीले अनसन स्थगित गरी दबाबमूलक कार्यक्रम जारी राख्ने भएका छन्। विज्ञप्ति जारी गर्दै केसीले यस्तो बताएका हुन्।
'सुभेच्छुकहरुको सल्लाह अनुसार सत्याग्रह आपतत: स्थगन गरि अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं। ती मागहरु यथावत छन्। सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं।' उनले भनेका छन्।
हेरौं विज्ञप्ति
अल्पसंख्यक भ्रष्ट न्यायाधीश र सहयोगी कर्मचारीहरुका कारण अहिले सिंगो न्यायालय वदनाम भएको छ । त्यस्ता व्यक्तित्वहरुलाई जवाफदेहि बनाएर न्यायालयको छवि सुधार्ने दायित्व अब स्वच्छ छवि भएका न्यायाधीस तथा कानुनविद्हरुको हातमा छ।
आयोगले गलत नियतबस ऐन विरुद्ध गरेको सम्वन्धन दिने निर्णय तुरुन्त फिर्ता लिन, मिलिमतो र प्रलोभनबाट प्रभावित भई न्याय विक्री गरि फैसला सम्पादन गर्ने न्यायाधीशलाई पदमुक्त गर्न र थप छानबिन र कारबाहीका प्रक्रिया तुरुन्त अगाडि बढाउन , फैसलाको विरुद्ध तुरुन्त पुनरावलोकनको प्रक्रिया अगाडि बढाउन, विगतमा कार्याान्वयन नभएका सम्झौताहरु र पूरा नभएका मागहरू सम्बोधन गर्न लगायत सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय साथै युद्ध अपराध र मानवता विरोधी घोर अपराधमा संलग्न प्रमुख नेताको हैसियतले प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा आदिको माग गर्दै हामीहरु आन्दोलनरत थियौँ र २०८१ आषाढ १४ गतेसम्म माग पुरा नभए सत्याग्रह शुरु गर्ने घोषणा गरेका थियौँ । सुभेच्छुकहरुको सल्लाह अनुसार सत्याग्रह आपतत: स्थगन गरि अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने कुरा जानकारी गराउन चाहन्छौं । ती मागहरु यथावत छन्। सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौँ भन्ने चेतावनी पनि दिन चाहन्छौं ।