दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नियमितरुपमा छाला तथा यौन रोगको उपचार सेवा सुरु हुने भएको छ।
केही समयदेखि विशेषज्ञ चिकित्सकको अभावमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु हुने जानकारी दिए।
छाला तथा यौन रोग विशेषज्ञ डा सविना सिटौलाले आइतवार अस्पतालमा हाजिर भएको र भोलीदेखि हरेक दिन नियमीत रुपमा ओपिडीबाट पनि सेवा सुरु हुने बताइन।
यसअघि छालाका बिरामीहरु अस्पतालमा विशेषज्ञ सेवा नहुँदा उपचार पाउन सकेका थिएनन्। प्रतिष्ठानको नेतृत्वको लामो समयको प्रयासपछि छाला तथा यौन रोगको उपचार फेरी सुरु भएको हो।
त्यस्तै प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डा सरोज उप्रेतीले सेवा लिने बिरामीको संख्या पनि बढ्दै गएको बताए। हाल प्रतिष्ठानमा मानसिक रोग भएका बिरामीहरुको उपचारका लागि १० शय्याको उपचार कक्ष समेत रहेको प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले बताए।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले प्रतिष्ठानमा नयाँ–नयाँ विशेषज्ञहरु थपिदै जाँदा अस्पतालमा सेवा लिन आउने विरामीहरुको चाप पनि बढ्दै गएको बताए।
प्रतिष्ठानमा नभएका अन्य विशेषज्ञ सेवाहरु पनि थप्ने प्रकृयामा रहेको पनि यसका लागि पहल जारी रहेको उनले बताए।प्रतिष्ठानमा आगामी आ.व. २०८१/०८२ मा १० करोड लागतको क्याथल्याब मेसिन खरिद गरेर मुटुरोग उपचार सुरू गर्ने योजना रहेको रजिष्ट्रार लम्सालले बताए। उनले भविष्यमा प्रतिष्ठानले न्यूरो सम्बन्धी उपचार सेवा स्थापना गर्ने योजना बनाएको समेत् बताए।