काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य संस्थाहरुमा दिनहुँ जस्तो गरिएको अनुगमनले स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्नका लागि उर्जा थपेको बताएका छन्।
मन्त्री यादवले सोमबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा यस्तो बताएका हुन्। उनले आफू स्वास्थ्य मन्त्रीको हैसियतमा रहँदासम्म स्वास्थ्य क्षेत्र सुधारको एउटा मात्रै लक्ष्य लिएर अगाडि बढ्ने बताए।
स्वास्थ्यमन्त्रीका रुपमा पदभार ग्रहण गरेको ४८ दिनपछि मन्त्रालयमा पत्रकारहरुसँग छलफल गर्दै उनले भने,'जे जसरी काम सुरु भएपनि मेरो एकमात्रै लक्ष्य स्वास्थ्य क्षेत्रमा रहेको विसंगतीको अन्त्य गर्नु नै हो।'
अस्पतालमा फार्मेसीमा औषधि नपाइने, बेड अभाव,शल्यक्रियाका लागि लामो समयसम्म कुर्नुपर्ने लगायतका समस्यामा व्यापक जन गुनासो आउने गरेको उनले बताए।
'शल्यक्रियाका लागि पावर लगाउनुपर्ने अवस्था छ , यस्तो परिस्थितीमा जनतामा निराशा छाएको छ, त्यसलाई हटाउनका लागि भाषण भन्दा पनि काम गर्नुपर्ने अवस्था आएको छ ' उनले भने।
वीर अस्पतालको अनुगमनमा बिना जानकारी पुगेका उनले भने एउटै बेडमा तीन जनासम्म बिरामी राखेको देखेपछि अस्पतालको आकस्मिक कक्षमा बेड संख्या बढाएर नयाँ भवनबाट सेवा दिन निर्देशन दिएको छु।
गत जेठ १४ गते अनुगमनपश्चात् एक महिनाभित्र आकस्मिक कक्ष नयाँ भवनमा सार्नका लागि निर्देशन दिएपनि कानुनी तथा खरिद प्रक्रियाका कारण केही समय अझै लाग्न सक्ने उनले बताए।