काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले साउन लाग्नासाथ स्वास्थ्य क्षेत्रमा जिम्मेवारीको व्यापक हेरफेर हुने बताएका छन्।
सोमबार मन्त्री यादवले मन्त्रालयमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा यस्तो बताएका हुन्। उनले भने एउटै व्यक्तिलाई लामो समयसम्म एउटै जिम्मेवारी दिइनु उचित नभएकाले साउन लाग्नासाथ स्वास्थ्यमा जिम्मेवारी व्यापक हेरफेर हुने बताएका हुन्।
'दुर्गम बसेको बसिरहेकै हुने, अर्काले यहाँ चारपाँचवटा जिम्मेवारी पाइरहने कुरा हुँदैन । सवैले अवसर पाउनुपर्छ । सक्षम व्यक्ति बाहिर पनि हुन सक्छ,' उनले भने, 'नयाँ व्यक्तिलाई अवसर पनि दिनुपर्छ।'
उनले आफूले मात्रै उक्त निर्णय नलिने बताए। मन्त्रालयकै कर्मचारीलाई सोधेर त्यसको निर्णय लिइने उनको भनाइ छ। 'व्यापक छलफल हुन्छ। त्यसपछि मात्रै निर्णय लिइन्छ। सबैको चित्त बुझाएर अगाडि बढ्छौं,' उनको भनाइ थियो।
नयाँ व्यक्तिलाई नयाँ ठाउँ तथा जिम्मेवारीको अनुभव गराउनका लागि स्वास्थ्य मन्त्रालयका विभिन्न निकायका कर्मचारीको पदस्थापन गर्न खोजेको उनको दाबी थियो। साथै एउटै व्यक्तिलाई धेरै जिम्मेवारी दिने परिपाटीको समेत अन्त्य गर्न आफू लागि परेको उनले बताए।
उनले पदस्थापनका लागि छलफल समेत सुरु भइसकेको बताए।
'युवा अवस्थामै स्वास्थ्य मन्त्री बनेको छु,मलाई विश्वास गर्नुहोस् स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नेछु, उनले भने।