काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । गएराति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको हो ।
दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।
सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ। अहिलेसम्म अन्य कुन मन्त्रालय, कुन दलको भागमा पर्ने तय भइसकेको छैन। त्यसैले स्वास्थ्य मन्त्रालय पनि छलफलकै क्रममा रहेको छ।
यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली-देउवाबीच सहमति बनेको छ ।
यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।