काठमाडौं- सत्ता समिकरण फेरिने पक्का भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको साझा सरकारमा मधेश प्रदेशबाट कुनै दल समेटिने पनि निश्चित छ।
दुई दलको सहमतिमा मधेश प्रदेशको नेतृत्व मधेश केन्द्रीत दललाई दिने उल्लेख गरेर कुनै एक दल समेटिने देखिएको हो। एमाले-कांग्रेसको उक्त सरकारमा सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले स्थान पाउने सम्भावना उच्च छ। त्यसबाहेक दुईटा जनता समाजवादी पार्टीमध्ये एउटा सरकारमा समेटिने एक एमाले नेताले बताएका छन्।
उनको संकेत अनुसार उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटाएर नयाँ बनाइएको अशोक राई नेतृत्वको पार्टी समेटिने सम्भावना उच्च छ। पूर्व एमालेकै नेता रहेका राईले वर्तमान मन्त्रालय र मन्त्रीलाई नै निरन्तरता दिनेगरी संवाद अघि बढाएको बुझिएको छ।
सत्ता समिकरणमा परिवर्तन आउने भएपछि उनीहरुले उक्त कसरत गरेका हुन्। सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि पनि उपेन्द्र यादव भन्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव काम गर्न सहज हुने ती एमाले नेता बताउँछन्।
पार्टी फुटाउन एमाले अध्यक्ष ओलीको सक्रियता रहेको विषयलाई लिएर उपेन्द्र टाढिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग भने उपेन्द्रको निकटता छ। त्यसैले कांग्रेससँग उपेन्द्रको लबिङ बलियो हुँदा उनी नेतृत्वको पार्टी समेटिन सक्छ। तर, एमालेले भने राई पक्षलाई नै जोड दिने संकेत देखिएको छ।