काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलले थप पाँच विभागसहितको सेवा विस्तार गरेको छ।
अस्पतालले आफ्ना सेवा विस्तार तथा असार २२ गते शनिबार अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै थप सेवाबारे जानकारी दिएको हो।
कार्यक्रममा अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख दिपक चन्द्र बरालले ब्लड बैंक, डेन्टल विभाग, आँखा उपचार, मिर्गौला, डायलाइसिस सेवा र आइसियू सेवा सुरु भएको जानकारी दिए।
उनले भने 'एभरेष्ट अस्पतालले यही शनिबारदेखि ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग तथा एनआइसीयू विभाग स्थापना तथा सेवा प्रारम्भ गर्दै छ। तीन दशकदेखि निरन्तर रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। यसै परम्परालाई निरन्तरता दिँदै, हामी थप सेवा विस्तार गर्दै विभिन्न नयाँ विभागहरूको उद्घाटनको योजना बनाइरहेका छौं।'
यस अवसरमा अस्पतालमा आयोजित शिविर कार्यकमका संयोजक सुरज भुषालले शनिवार ५०० युनिट व्ल्ड कलेक्सन गर्ने लक्ष सहित वृहत रक्तदान कार्यक्रम राखिएको जानकारी दिए।
त्यसैगरी उनले विभिन्न सामाजिक संघ संस्थाहरुको समेत सहभागिता हुने शिविरमा निःशुल्क मृगौला जाँच शिविर, निःशुल्क सुगर, युरिया, क्रियाटिनिन जाँच, १५० जनालाई अल्ट्रासाउन्ड रु १०० मा प्रदान गरिने निःशुल्क दन्त स्वास्थ्य शिविर, निःशुल्क आँखा परीक्षण शिविर, आँखा स्वास्थ्य शिविरमा २०० वटा चश्मा निःशुल्क वितरण समेत जानकारी दिए।
शिविरमा जान चाहनेले ईमेल, फोन तथा एसएमएस मार्फत अस्पतालमा अग्रिम नाम दर्ता गर्ने व्यवस्था गरेको जनाइएको छ।