बैतडी- बैतडीमा १ सय ७६ जना क्षयरोगका बिरामी उपचार गराइरहेका छन्। क्षयरोगको चालु आर्थिक बर्षमा ५ सय ६१ जना क्षयरोगका बिरामी पत्ता लगाउने लक्ष्य रहेको भएपनि १७६ जनामात्रै उपचारको दायरामा आएका स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए।
जिल्लाको दशरथचन्द नगरपालिकामा २९ जना, पाटन नगरपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा २७ जना र मेलौली नगरपालिकामा १४ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन्।
यस्तै पञ्चेश्वर गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिकामा १८ जना, सुर्नया गाउँपालिकामा ११, दोगडाकेदारमा १५, डिलाशैनीमा ९ र सिगास गाउँपालिकामा ११ जना बिरामी उपचारमा रहेका छन्।
जिल्लाका दुईओटा स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको छ। पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको बडालले बताए।
निशुल्क उपचार हुने भएपनि अझै पनि समुदायमा रहेका सबै बिरामीहरु उपचारको दायरमा आउन नसकेका स्वास्थ्य कार्यालय बैतडीकानिमित्त प्रमुख तीर्थराज भट्टले जानकारी दिए।
क्षयरोगका बिरामीहरुलाई उपचारको पहुँचमा ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेका भएपनि सबैलाई उपचारको दायरामा ल्याउन नसकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए।