काठमाडौं- दक्षिण कोरियामा हुने स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रमलाई लिएर स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयबीच विवाद भएको छ। स्वास्थ्य बीमाका विषयमा दक्षिण कोरियामा हरेक वर्ष हुने तालिमलाई 'विदेश भ्रमण' गर्ने अवसरका रुपमा लिने गरिएको छ। बोर्डका पदाधिकारीले आफू निकटस्थलाई समेट्न नसकेपछि विवाद सिर्जना गरेका हुन्।
गत वर्ष तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेत र बोर्डका उच्च पदस्थ अधिकारीले आपसी समझदारीमा मापदण्ड विपरित निकटस्थ कर्मचारीलाई पठाएका थिए। दोस्रो वर्ष कार्यक्रममा मन्त्रालय र बीमा बोर्डका माथिल्लो तहका कर्मचारी सहभागी हुनुपर्ने कार्ययोजनामा स्पष्ट रुपमा उल्लेख गरिएको छ। यस विषयमा कुरा उठाइएपनि बोर्डका अधिकारीले कुनै 'एक्सन' लिन मानेका थिएनन्। यसवर्ष पनि सोही प्रवृत्ति दोहोरिएको छ। सम्बन्धित कर्मचारी नपठाइएको भन्दा पनि आफू निकटहरु छुटेकोमा बीमा बोर्डका अधिकारीलाई आपत्ति रहेको यसले प्रस्ट पार्छ।
स्वास्थ्य सचिवलाई लेखिएको पत्रमा बीमा बोर्डसँग समन्वय नगरी मन्त्रालयले आफूखुशी पठाउन खोजेको भन्दै आपत्ति जनाएको छ। तर, यो कार्यक्रमका लागि बनाइएको गाइडलाइन र त्यससँग सम्बन्धित व्यक्ति छनोट भए/नभएकोबारे एक शब्द पनि बोलिएको छैन।
आगामी अगस्ट २५ देखि सेप्टेम्बर ०७ सम्म दक्षिण कोरियामा संचालन हुने डेभलपिङ इफेक्टिभ हेल्थ इन्स्युरेन्स सिस्टम इन नेपाल थ्रो क्यापासिटी बिल्डिङ सपोर्ट कार्यक्रम सन् २०२२ देखि चलिरहेको छ। निरन्तर तालिम कार्यक्रममा मन्त्रालय र बोर्डका उच्च अधिकारीले निकटस्थलाई अवसर दिने गरेका छन्।
बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले वैदेशिक कार्यक्रममा कर्मचारी खटन पटन गर्दा मन्त्रालयले बोर्डसँग कुनै पनि समन्वय नगरी एकतर्फी ढंगले मनोनयन गरिएको बताएका छन्। स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ लाई बेवास्ता गरिएको भन्दै ध्यानाकर्षण पत्र स्वास्थ्य मन्त्रालयमा पठाएका छन् र बोधार्थ अर्थ मन्त्रालय र कोरिया इन्टरनेशनले कोअपरेसन एजेन्सीकहाँ पनि पठाएका छन्।
के हो कार्यक्रम, जानुपर्छ को?
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीमा बोर्डका नीतिगत तहका कर्मचारीलाई लक्षित गर्दै दक्षिण कोरियाले ‘कोर्स’ तयार गरेको हो।
मन्त्रालय र बीमा बोर्डका माथिल्लो तहका कर्मचारी सहभागी हुनुपर्ने त्यसका लागि तयार कार्ययोजनामा स्पष्ट रुपमा उल्लेख गरिएको छ। तर कोरिया भ्रमणमा जाने कर्मचारीहरुको सूचीमा स्वास्थ्य मन्त्रालय र बोर्डका उच्च पदस्थ अधिकारीहरुका निकटकस्थहरु बढी पर्ने गरेका छन्।
पहिल्यै तय गरिएको यो कोर्समा सन् २०२३ मा माथिल्लो तहका कर्मचारी सहभागी हुने उल्लेख छ। मध्यमस्तर र कार्यक्रम सञ्चालन गर्ने तहका कर्मचारीले यसअघि अनलाइनमा उक्त तालिम लिइसकेका छन्। मध्यम र कार्यक्रम तहका कर्मचारीलाई सन् २०२४ मा कोरिया भ्रमण गराउने उल्लेख छ।