नवलपरासी- पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ। चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिए।
नगरपालिकाले गर्भवतीका लागि निःशुल्क रूपमा भिडियो एक्स–रे, एम्बुलेन्स सेवा, पोषण झोला वितरण, महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बीमा, घरदैलोमा नै पुगेर स्वास्थ्य परामर्श र सामुदायिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड वितरणजस्ता काम गरेको उनले बताए।
“नगरपालिकाले घरदैलो भिडियो एक्स–रे कार्यक्रमअन्तर्गत नगरभित्रका आठ स्थानबाट गर्भवतीको निःशुल्क अल्ट्रासाउन्ड सेवा र निःशुल्क क्याल्सियम चक्की वितरण गरेको छ । चालु आवमा आठ सय ८२ जनालाई सोसेवा प्रदान गरेको छ”, नगरप्रमुख यादवले भने।
यस्तै नगरपालिकाले चालु आवमा ४४ गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको र २३ जनालाई थप उपचारका लागि अन्यत्र पढाएको छ। स्वास्थ्य शाखाकानुसार गत वर्ष छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरी गरी आठ सय ९५ जनालाई पोषण झोला वितरण भएको थियो।
रामग्राम नगरपालिकाले चालु आवदेखि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि निःशुल्क स्वास्थ्य बीमा पनि गरिदिएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए। घरमै पुगेर सुत्केरी आमा र बच्चाको जाँच तथा परामर्श, विद्यालय स्वास्थ्य शिक्षा, कुपोषित बालबालिका, कुष्ठरोगी तथा क्षयरोगका बिरामीको खोजपडताल कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए।
यसैगरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानेटरी प्याड वितरणकार्य भइरहेको नगरपालिकाले जनाएको छ।