काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
२०७९ पुस १० गते पहिलो पटक नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहालले पाँचौपटक विश्वासको मत लिन लागेका हुन्।
नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
प्रधानमन्त्रीले विश्वासको मत लिन लागे पनि उनको प्रस्ताव भने पारित हुने देखिँदैन। दाहालका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन्। यी तीन दलको ६३ सिट छ। विपक्षमा कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दल उभिएका छन्।
यसअघि दाहालले २०७९ पुस २६, २०७९ साल चैत ६, २०८० साल फागुन ३० र २०८१ साल जेठ ७ गते विश्वासको मत लिएका थिए।