काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले स्वास्थ्य र वन तथा वातावरण मन्त्रालय मागेको छ।
जसपाले यसअघि यी दुई मन्त्रालय पाएको थियो। नयाँ बन्ने सरकारमा पनि जसपाले यसअघिकै मन्त्रालय माग गरेको हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री प्रदीप यादव थिए भने वातावरण मन्त्री नोवलकिशोर साह सुडी थिए।
नयाँ समिकरण बनेसँगै उनीहरुले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा बन्ने सरकारमा को को मन्त्री बन्ने र कसलाई कुन मन्त्रालय हुने भन्ने अझै टुंगो लागेको छैन।
एमाले र कांग्रेससँग भएको प्रारम्भीक सहमाति अनुसार एमालेले प्रधानमन्त्रीसहित ८ र कांग्रेसले ९ मन्त्रालय पाउने छन्। साना दलहरुबाट को को सरकारमा सहभागी हुने भन्ने पनि टुंगो लागेको छैन।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन्। उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन्।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने बताइएको छ।