काठमाडौं- प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएसँगै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डाको विषयमा पनि टुंगो लागेको छ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आइतबार भएको छलफलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो।
आइतबार साँझसम्मको सहमति अनुसार कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालयसहितका ९ वटा मन्त्रालय परेको छ। स्वास्थ्यमा जसपाले पनि दाबी गरेको थियो।
तर एमाले र कांग्रेसले मन्त्रालय भागबन्डा गर्ने क्रममा कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परेको एक नेताले जानकारी दिए। कांग्रेसको भागमा स्वास्थ्यसहित गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय परेको छ।
यसैगरी एमालेको भागमा ८ वटा मन्त्रालय परेका छन्। एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन्।
सरकारमा सहभागी हुने अन्य दलले पनि मन्त्रालयमा दाबी गरिरहेका कारण केही मन्त्रालय परिवर्तन समेत हुन सक्ने नेताहरु बताउँछन्।
कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पनि को मन्त्री हुने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। कांग्रेसमा प्रदीप पौडेल, रामहरी खतिवडा, हृदयराम थानी, दिपक खड्का लगायतको नाम चर्चामा छ।