काठमाडौं- स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उत्साह लिएर मन्त्रालयमा आएको भन्दै त्यही उत्साहसहित बिदा हुने बताएका छन्।
पदवहालीपछी कर्मचारीसँगको छलफलमा उनले भने- 'देशमा सबै तिर निरासा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।'
'मन्त्रालयमध्येमा विधि सिकाउने, पद्धति सिकाउने मन्त्रालयमा आएको छु, राजनीती लिगेसी यहाँ देखिदैन, स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु,मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला, सुटुक्क भन्नुहोला, आफ्नो बुद्धि बिबेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला। यहाँ ठुला कुरा गर्न समस्या होला, तर सानासाना काम गर्छु, नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यता तर्फ लाग्छु, सबैको क्यापासिटी लगाउँ, म निर्देशन दिने तिर होइन मिलेर काम गर्ने तिर लाग्छु, शाझा उद्देश्य पूरा गर्ने तिर आफ्नो जिम्मेवारी सम्झेर सबै लागौं। मलाइ सिकाउनुहोला।' उनले थपे।
छलफलमा स्वास्थ्य सचिव रोशन पोखरेलले बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको र त्यसकालागी मन्त्रालयका सिंगो कर्मचारीले साथ दिने बताए।