काठमाडौं- काठमाडौको टुकुचा- बागमती संगम नजिकको ढलमा फेरि नमूना परीक्षण गर्दा पोलियो नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सोही स्थानबाट २२ जेष्ठ २०८१ मा संकलन नमूना परिक्षणमा नदेखिएको हो।
त्यसअघि १३ जेष्ठ २०८१ मा संकलन गरिएको ढलको नमूना परिक्षण गर्दा भ्याक्सि डेरिभ्ड पोलियो भाइरस- टाइप ३ देखिएको थियो। जसले काठमाडौंमा पोलियोको आशंका गरिएको थियो।
'संसारबाट पोलियो रोग उन्मूलन गर्ने कार्यमा विश्व सफलताको नजिक पुगेको छ। मुखबाट दिईने पोलियो विरुद्धको खोप (ओ.पि.भी. खोप) मा रहेका भाइरस मुखबाट मानिसको आन्द्रामा पुगेर बृद्धि भई पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता विकास गरेकाले यो सम्भव भएको हो,' मन्त्रालयले भनेको छ, 'तर कहिलेकाँही भने आन्द्रामा पुगेर बृद्धि हुने क्रममा कुनै भाइरसले अणुवाशिक स्वरूप परिवर्तन गरेर पोलियो रोग संक्रमण गर्न सक्ने पोलियो भाइरसको रूपमा विकसित हुने सम्भावना पनि रहन्छ । यस्ता भाइरस खोप कभरेज कम भएको समुदायमा फैलन सक्ने हुन्छ।'
नेपालमा हाल कुनै पनि व्यक्तिमा भाइरसको संक्रमण पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ। मानिसमा पोलियोको संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना मात्र रहेकाले आत्तिन नपर्ने मन्त्रालयको भनाइ छ। तथापि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा यस स्थितिको अनुगमन भइरहेको बताइएको छ।
' वातारणीय निगरानी अन्तर्गत ढलको थप नमूना परिक्षण भइरहेको, अतिशिघ्र लुलो पक्षघातका बिरामीको निगरानी थप तीव्रताका साथ अगाडि बढिरहेको र राष्ट्रिय खोप सल्लाहकार समिति र पोलियो रोग उन्मुलन सम्बधि राष्ट्रिय प्रमाणिकरण समिति जस्ता विशेषज्ञ समितिहरूसङ्ग थप परामर्श भइरहेको जानकारी दिन चाहन्छौं,' मन्त्रालय विज्ञप्तिमा भनेको छ।
मन्त्रालयले यही साउन ९ गते देखि १२ गतेसम्म पोलियो विरुद्धको विशेष खोप अभियान काठमाडौं उपत्यकाका तीनैवटा जिल्लाहरुमा सञ्चालन गर्न लागेको छ।