काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न नसकिने बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी, एमएस तथा एमसीएचको पाठ्यक्रम तयार गर्न आयोजित कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने। ‘नयाँ संस्था खोल्ने भन्दा भएका मेडिकल शिक्षाका संस्थाहरुको क्षमता वृद्धि गर्नुकम खर्चिलो र राम्रो हो,’ उनले भने।
मेडिकल शिक्षाले वर्तमान समयको आवश्यकता पुरा गर्न सक्नुपर्ने उनको धारणा थियो। नेपालमा उत्पादन भएका जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको धारणा थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उनले बताएका छन्।
यद्यपि उक्त उपलब्धिमा मात्रै सीमित हुनुभन्दा उपलब्ध साधन स्रोतबाट अधिकतम उपलब्धी हासिल गर्नुपर्नेमा उनको जोड थियो। ‘देश दिन दिनै गरिब हुँदै गएको छ, थोरै लगानीमा पनि धेरै उपलब्धी हांसिल गर्नुपर्ने अवस्था छ’, ‘कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो,’ उनले भने।
हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५० सिटमा एमबीबीएस कार्यक्रम चलाउँदै आएकोमा त्यसलाई बढाउनुपर्ने उनको धारण थियो।