काठमाडौं– सौर्य एअरलाइन्सको दुर्घटनाग्रस्त विमानबाट उद्धार गरि त्रिवि शिक्षण अस्पताल गरिएका दुईजना मृत अवस्थामा अस्पताल पुगेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा दिनेश काफ्लेका अनुसार दुर्घटनास्थलबाट उद्धार गरिएको भनिएका दुईजना अस्पताल पुग्दा मृत अवस्थामा थिए। मृत अवस्थामा आकस्मिक कक्षमा लगिएका उनीहरुलाई त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ।
मृत अवस्थामा आइपुगेका उनीहरुलाई आकस्मिक कक्षबाट फरेन्सिक विभागमा पठाएको एक चिकित्सकले बताए।
‘हाम्रो आकस्मिक विभागमा मृत अवस्थाका दुईजना पुरुष ल्याइएको थियो,’ आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले भने, ‘पुरै जलिसकेको अवस्थामा प्याकिङ नै गरेर ल्याइएको शव आकस्मिकमा केही गर्ने कुरा भएन, आकस्मिकबाट फरेन्सिकमा पठाइयो, अरु शवहरु पनि फरेन्सिक विभागमै राखिएको छ।’
त्रिवि शिक्षण अस्पतालमा दुर्घटनामा परी मृत्यु भएका अन्य शव पनि ल्याइएको अस्पतालले जनाएको छ।