काठमाडौं- सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विमानका घाइते पाइलटको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगल पुगेका छन्।
दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुगेका उनी घाइते पाइलटको अवस्था बुझ्न केएमसी पुगेका हुन्।
सौर्य एयरलाइन्सको जहान बुधबार बिहान ११ :११ बजेट दुर्घटना भएको थियो। दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ। पाइलटको घाइते अवस्थामा उद्धार भएको छ।
घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए। उद्दार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली पनि पुगेका हुन्।
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ।
प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई काठमाडौँ मेडिकल कलेज पठाइएको जनाएको छ।