काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाको आशंकामा उपचारका लागि भर्ना गरिएका तीन जना बिरामी भागेका छन्।
तीनमध्ये एक शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेका अस्पतालका निर्देशक डा युवानिधी बसौलाले बताए।
'ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि अस्पताल ल्याइएको थियो। ती मध्ये एक जनालाई हैजा पुष्टि भइसकेको छ', डा बसौलाले भने।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा बिमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राती अस्पतालबाट भागेका हुन्। उनीहरुको रिपोर्ट आउन बाँकी छ।