काठमाडौं- ललितपुरमा भेटिएको हैजा समुदायस्तरमै फैलिनसकेको बताइएको छ। ललितपुरको एक सुधार गृहका बालकमा हैजा पुष्टि भएपनि समुदाय स्तरमा फैलिनसकेको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलेले बताए।
उनका अनुसार हैजा आतिहाल्नुपर्ने गरी समुदायमा फैलीसकेको छैन। हैजा देखिएसँगै आफूहरुको ध्यान त्यसमा नै केन्द्रित रहेको उनको भनाइ छ।
७ जनाको आरडिटी परीक्षणका क्रममा ५ जनामा पोजेटिभ देखिएपछि उनीहरुको कल्चर परीक्षणका लागि टेकु पठाइएकोमा एक १६ वर्षिया बालकको रिपोर्ट पोजेटिभ आइसकेको थियो भने उपचारकै क्रममा भागेका तीन जनाको पनि रिपोर्ट पोजेटिभ आइसकेको छ।
एक बालकको कल्चर परीक्षणका क्रममा हैजा पोजेटिभ देखिएपछि स्वास्थ्य कार्यालयको टोली उक्त सुधार गृहमा गएर अनुसन्धान सुरु गरेको थियो।
त्यहाँ पानीको कारण हैजा भएको हुनसक्ने आशंकाका आधारमा त्यहाँको पानी परीक्षण गर्दा पानीमा दिसामा हुने जीवाणु देखिएको छ।
डा पौडेलले भने दुषित पानीका कारण उक्त सुधार गृहमा हैजा देखिएकोले पानी सफा गरेर मात्रै पिउन भनिएको छ।
हाल अन्य कसैमा पनि हैजासँग मिल्दाजुल्दा लक्षण नदेखिएकोले हैजा नियन्त्रणमा नै रहेको उनले बताए। उक्त सुधार गृहमा ६५ जना बसोबास गर्दै आइरहेका छन्। हैजा आशंकामा परीक्षणका लागि जनस्वास्थ्य कार्यालय ललितपुरले इडिसीडीसँगको सहकार्यमा काम गरिरहेको छ।
‘हैजा पुष्टि भएपछि हामीले समुदायमा पनि हैजासँग मिल्ने लक्षण देखिएका मानिसहरु भए नभएको यकिन गर्न समूदायमा अवलोकन पनि गरेका थियौं तर त्यस्तो लक्षण पाएका छैनौं’, उनले भने, ‘सुधार गृहभन्दा बाहिर नगएकोले हैजा नियन्त्रणमा छ’।
ललितपुरको गोदावरी नगरपालिका, ललितपुर जिल्ला प्रशासन कार्यालय तथा विभिन्न स्वास्थ्य संस्थासँगको सहकार्यमा जनस्वास्थ्य कार्यालय ललितपुरले काम गरिरहेको डा पौडेले जानकारी दिए।
यो पनिः
टेकु अस्पतालबाट भागेका ३ जनामा पनि हैजा पुृष्टि