काठमाडौं- मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिएका छन्।
बिहीबार बिहान उनी कोठामा अचेत अवस्थामा भेटिएका हुन्। यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए।
३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए। भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले ढोका फुटाएर ८ : ४० बजे अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।
शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ। डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।