काठमाडौं– सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।
दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेर जानकारी गराएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै शाक्यको अवस्था सामान्य र कुनै जटिलता नदेखिएको जनाएको छ। अस्पतालकी निर्देशक प्राडा मीना थापाका अनुसार शाक्यको ढाडको एउटा हड्डी र देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएका छन्।
शाक्यको टाउको,अनुहार, नाक, आँखाको चोटहरुको उपचार भने भइसकेको प्राडा थापाको भनाइ छ।
बुधबार बिहान सौर्य एअरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यलाई उद्दार गरिएको थियो।
शाक्यलाई आइसीयुमै राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।