काठमाडौं- बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन्।
उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन्।
दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ।
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए।
केही मृतकका परिवार तथा आफन्तले भने शव हेर्न भित्र बोलाएर जबर्जस्ती शव बुझेको कागजमा हस्ताक्षर गर्न गराउन लगाएको आरोप समेत लगाएका छन्।
शुक्रबार अपराह्नसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन्।