काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालले व्यवहार र कारोबार पारदर्शी बनाउनुपर्ने बताएका छन्। अस्पतालको १३५ औं वार्षिकोत्सवमा बोल्दै उनले अस्पताललाई लिएर उठिरहेका प्रश्न आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए।
सिमित जनशक्ति, पूर्वाधार र स्रोतका बिचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने अवस्था रहेको उनले स्मरण गराएका छन्। आवश्यकता जति जनशक्ति नभएपनि वीरमा संख्यामा जनशक्ति सानो नरहेको उल्लेख गरे। 'हामीले सेवालाई प्रभावकारी बनाउन जरुरी छ। जनशक्ति आवश्यकता अनुसार पूर्ण हो भन्दिनँ। जनशक्ति संख्या सानो हैन, त्यसले मेहनत गर्यो भने ठूलो उपलब्धि हासिल हुन सक्छ।'
उनले समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्। एकीकृत ढंगले काममा अघि बढ्न आग्रह गरेका छन्। उनले थपे, 'व्यवस्थापकीय पक्षमा सुधार गर्न सकिरहेका छैनौं । सुधार गर्यौं। समन्वयन गर्यौं भने यही साधनस्रोतबाट धेरै परिणाम हासिल हुन सक्छ।'
उनले अस्पतालको मुख्य देखिने ठाउँ इमर्जेन्सी भएको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए। त्यसका लागि आफूले सल्लाह गरेको बताएका छन्।
लाइन घटाउने विषयमा सुरुमा आफ्नो 'अप्राविधिक बुझाइ' रहेको बताउँदै नयाँ उपाय अवलम्बन गर्नुपर्ने उल्लेख गरे। अनलाइन प्रणाली र टोकन सिस्टमले घटाउन सकिने आफूले बुझेको बताउँदै आंशिक रुपमा लागु भइरहेको पाएको बताए।
मन्त्री पौडेलले वीर अस्पतालमा जति शय्या छन् ती सबैको उपभोग हुने गरी कार्यक्रम अगाडि बढाउनु पर्ने बताए। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालबीच कुनै विवादको विषय नरहेको पनि बताए।
'न्याम्स र वीर अस्पतालबीच कुनै विवादको विषय होइन। न्याम्स पनि रहन्छ, वीर अस्पताल पनि रहन्छ। यी नेपालका ऐतिहासिक संस्था हुन्। हामी दुवैलाई बचाएर लैजान्छौँ,' उनले भने, 'स्वास्थ्यकर्मीलाई काम गर्न आवश्यक सुरक्षित वातावरण निर्माणका लागि हामी निरन्तर लाग्ने छौँ। आवश्यक दरबन्दी सिर्जना गर्ने छौँ। आवश्यक स्रोत साधन जुटाउन लाग्ने छौँ। स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सबै क्षेत्रको क्षमता विकास गर्न क्रमशःः लाग्ने छौँ।'