काठमाडौं- गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ छन्।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो। उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएको कवि मुकुन्द पौडेलले जानकारी दिए।
‘शास्त्रीय संगीतमा उच्च नाम बनाएका एउटा सर्जक यसरी घर फर्किनु ज्यादै दु:खद् छ। उहाँको मिर्गौलामा समस्या पहिलेदेखि भएपनि उपचारका क्रममा गत वर्ष फागुन–चैतमा मात्र पत्ता लागेको थियो। शास्त्रीय संगीतमा जीवन समर्पित गर्नुभएका साधकलाई हामीले यसै भुल्नु हुँदैन,’ पौडेलले भने।
कवि पौडेलले शास्त्रीय गायक कामतको दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गरिरहेको बताए। आर्थिक अभावकै कारण जन्मथलो फर्किएका कामतको उपचारमा सहयोग गर्न कवि पौडेलले पहल थालेका छन्।
‘उहाँका शुभेच्छुक केही व्यक्ति जम्मा भएर उहाँलाई गर्न सकिने सहयोगका विषयमा हालै छलफल गरेका छौं। उहाँका शिष्यसँगै शुभेच्छुकले सहयोग गर्नुभएमा उहाँको उपचार गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो,’ पौडेलले भने।
शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन्। उनीसँग २०५५ सालदेखि नै सम्पर्कमा रहेका संगीतकार राजु सिंह पनि उपचार समस्याकै कारण घर फर्किनुलाई दु:खद् मान्छन्। उनले संगीतको एक साधकलाई जीवनको यो समयमा राज्यले पनि सहयोग गर्नुपर्ने बताए।
‘उहाँ शास्त्रीय संगीतमा जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्ने गरी सिकाउने गुरू। उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले गीत-संगीतको चम्किला तारा बन्नुभएको छ। उहाँलाई हामी संगीतकर्मीसँगै सरोकारवाला निकायले सहयोग गर्न ढिलाइ गर्न हुँदैन,’ संगीतकार सिंहले भने।
‘मलाई पनि केही स्वास्थ्य समस्या देखिएको थियो, त्यहीकारण उहाँलाई भेट्दा असर गर्छ भन्ने लगेर फोनमार्फत नै सम्पर्क गरें। म ठीक भएपछि भेट्छु भन्ने योजना बनाएको थिएँ। उहाँ घर फर्किनुभएको कुराले ज्यादै दुःखी बनाएको छ,’ सिंहले अगाडि भने, ‘जीवन नै शास्त्रीय संगीतमा समर्पण गरेर यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सर्जकको यो अवस्थाले नयाँ पुस्तालाई पक्कै उत्साहित गर्दैन। त्यसैले राज्यले त्यस्ता सर्जकलाई उपचारमा सघाउनुपर्छ।’
गुरुदेव कामत स्वभावले आत्मस्वाभिमानी भएकाले पनि सहयोगका लागि आग्रह नगरेर आफ्नो जन्मथलो फर्किएको हुनसक्ने संगीतकार सिंहको अनुमान छ।
‘हामीले शास्त्रीय गीत-संगीतको चर्चा गर्ने हो भने गुरुदेव विना सम्भव हुन्न, अपूरो हुन्छ,’ संगीतकार सिंहले भने।
गायक युवराज चौलागाईं २०६० सालताका गुरुदेवकहाँ पुगेका थिए। त्यहाँ औपचारिक रूपमा शिक्षा नलिए पनि उनले प्रेरणाको स्रोतका रूपमा उनलाई लिने गरेका छन्।
‘शास्त्रीय संगीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो। अहिले पनि उहाँको गीत-संगीतले हामीलाई शिक्षा दिइरहेको हुन्छ। संगीत सिकाउने सरल र सभ्य उहाँको शैलीले विद्यार्थीलाई आकर्षित गर्थ्यो। उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्छौं,’ चौलागाईंले भने।
उनले गुरुदेवजस्तो संगीत साधकलाई उपचारमा सघाउन आफूले पनि आग्रह गरिरहेको बताए। बेलाबखतमा संगीतकर्मीलाई पर्ने अप्ठ्यारोका विषयमा दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनले बताए।
‘जीवन नै गीत-संगीतमा समर्पित गरेर एउटा विधालाई नयाँपुस्तासम्म ल्याउन मद्दत गर्ने सम्पूर्ण अग्रजका बारेमा सम्बन्धित निकायले पनि सोच्नुपर्छ। गुरुदेवजस्तो सर्जकको अवस्थाले हामीलाई उत्साहित गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले हामीले पनि केही छ भन्ने अवस्था हुनुपर्छ।’ रासस