सिमकोट- हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ ।
दीपेश बुढा मस्तिष्क क्यान्सर (ब्रेन ट्युमर) ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो पोखे। छोरालाई शल्यक्रिया गर्न काठमाडौँ पुर्याइएको जनाउँदै रकम जुटाउन नसक्दा शल्यक्रिया नभएको उनले बताए।
छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए। बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे।
आइतबारदेखि सहयोग सङ्कलन थालिएको बताउँदै वडाध्यक्ष बुढाले हिजो पहिलो दिन रु ४३ हजार १५ सङ्कलन भएको जानकारी दिनुभयो । “क्यान्सरपीडित बालकलाई सहयोग गर्न बालकका नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत सहयोग गर्न सकिन्छ”, उनले भने।