काठमाडौं- प्रविधिक शिक्षा तथा व्यावसयीक तालिम परिषद् (सीटीईभीटी) र डेन्टल हाइजेनिस्ट एसोसिएसनबीच सात बुँदे सहमति भएको छ।
बिहीबार परिषदमा भएको छलफलपछि सीटीईभीटी र डेण्टल हाइजेनिस्ट तर्फका दुई वटा संस्थाहरुबीच सहमति भएको हो।
नेपाल डेण्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनले परिषदमा विभिन्न मितिमा ज्ञापन पत्र बुझाएको थियो। त्यसपछि बिहीबार बसेको बैठकले सात बुँदे सहमति गरेको हो।
यस्ता छन् सहमतिका सात बुँदा
१) परिषद्बाट सम्बन्धन/ स्वीकृति प्राप्त डेण्टल कलेजहरुको पूर्वाधार निर्देशिका (CTEVT/NHPC) मा उल्लेख भए बमोजिम थप अध्ययनका लागि विषयविज्ञहरु सहितको एक अनुगमन टोली गठन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गराउने र प्राप्त प्रतिवेदनको आधारमा प्रवेश परीक्षाको नतिजा प्रकाशनका प्रक्रिया अगाडि बढाउने ।
२) परिषद् कार्यालयबाट यथाशीघ्र फ्याकल्टी बोर्ड गठनका लागि दश दिनभित्रमा प्रक्रिया गर्ने ।
३) उत्पादित जनशक्तिहरुको बजारीकरण र रोजगारीका लागि सम्बन्धित निकायहरुमा समन्वय गर्ने र यस कार्यमा सम्बन्धित शैक्षिक संस्थाहरुलाई समेत जिम्मेवार बनाउने ।
४) डिप्लोमा इन डेण्टल हाइजेनिस्ट कार्यक्रममा समेत शुल्कमा एकरुपता कायम गर्न तत्काल शुल्क निर्धारण समिति गठन गरी प्राप्त प्रतिवेदनलाई परिषद समक्ष पेश गर्ने ।
(५) शैक्षिक संस्थाले प्रयोगात्मक अभ्यासका लागि सम्बन्धित निकायबाट लागु गरिएको लगबुकलाई पाठ्यक्रमसंग तादाम्यता मिलाउने ।
६) प्रयोगात्मक अभ्यासका लागि परिषद्को आंगिक शिक्षालयका हकमा तत्काल डेण्टल अस्पतालसँग सम्झौता गरी आवश्यक व्यवस्था गर्ने ।
७) राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म बमोजिम डेण्टल विषयसँग सम्बन्धित प्रिडिप्लोमा र छोटो अवधिका तालीमहरु संचालन नगर्न नगराउन सम्बन्धित पक्षहरुलाई जानकारी गराउने ।