काठमाडौं- स्वास्थ्य बीमा बोर्डका कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै शुक्रबार ‘पेन डाउन’ गरेका छन्।
स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत शाखा अधिकृत शोभित रिजाललाई हटाउन गरेको माग पूरा नभएपछि बोर्डका कर्मचारीले ‘पेन डाउन’ गरेका हुन्।
शाखा अधिकृत शोभित रिजालले कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्ष भित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने सार्वजनिक स्थलमा समेत करारमा कार्यरत कर्मचारीहरुलाई जागिर खाइदिन्छु भन्दै कर्मचारीहरुलाई मानसिक तनाव दिएको उनीहरुको आरोप छ।
उनीहरुले १५ दिनभित्र रिजाललाई हटाउन माग गर्दै साउन ३ गते कार्यकारी निर्देशकलाई पत्र बुझाएका थिए। सो समयावधिमा माग सुनुवाई नभएको भन्दै कर्मचारीहरुले शुक्रबारदेखि ‘पेन डाउन’ गरेका छन्।
२ वर्ष पहिला हालकै कार्यकारी निर्देशक डा दामोदर बसौलाले रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए। हटाएको ११ महिनापछि रिजाल २०७९ चैत १६ गते पुनः बोर्डमै काजमा आएका थिए।
हेर्नुहोस साउन ३ मा बुझाइएको पत्र