काठमाडौं - सिहंदरबार बैद्यखानाले पुन: आयुर्वेदिक औषधि उत्पादन गर्ने भएको छ। सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीका अनुसार वैद्यखानाले १५ दिनभित्र केही उत्पादन बजारमा ल्याउने गरी तयारी गरिरहेको छ।
त्रिपला चूर्ण, पीडाहर मल्हम,तुलसी चिया, मिमिया लगायतका उत्पादन आगामी १५ दिनभित्रै बजारमा आउने निर्देशक डा केसी बताउँछन्। उनका अनुसार गत तीन वर्षदेखि कुनैपनि उत्पादन थिएन। आयुर्वेदिक औषधिहरुको ठेक्का लगाई उत्पादन प्रक्रिया सुरु भएको निर्देशक डा केसीले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
वैद्यखानाका उत्पादन अधिकृत गोविन्द ढकालले सरकारले असहयोग गरेका कारण लामो इतिहास बोकेको संस्था ध्वस्त हुने बाटोमा गएको बताए। सरकारले जडिबुटी किन्नलाई मात्र पनि पैसा दिए वैद्यखानालाई पुन: पहिलाकै अवस्थामा फर्काउन सकिने उनको भनाई थियो । बैद्यखानाले बिगतमा १ सय ५० प्रकारमा औषधि उत्पादन गर्दै आएको थियो।