काठमाडौं- गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा १० जना यात्रु घाइते भएका छन्। धादिङको गजुरीमा माइक्रो बसमाथि पहिरोसँगै आएको रूख ढल्दा घाइते १० मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूवीभ्याली गाउँपालिका-१ का ७२ वर्षीय निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।
घाइते भएका १० जनामध्ये पाँच जना सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको डिएसपी मिश्रले जानकारी दिए।धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो।