तनहुँ- शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ।
अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो।
हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताए। डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन्।
यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ। अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ।