बागलुङ- बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको दुई पहिरोमा घाइते भएकाहरूलाई अस्पताल पुर्याउन कठिन भएको छ।
निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको हो। बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेका छन्।
घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए। उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको बरालको भनाइ छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। पहिरोमा परी आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ।