काठमाडौं– बागमती प्रदेश अन्तर्गतको धादिङ अस्पताल, धादिङमा विशेषज्ञ सेवा विस्तार हुँदै गएसँगै बिरामीको संख्या पनि वृद्धि भएको छ।
अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा बिरामीको संख्या २६ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७९/८० मा ९१ हजार ८४८ बिरामीले ओपिडी, आकस्मिक तथा भर्ना भएर उपचार सेवा लिएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा १ लाख १५ हजार ९६१ जनाले सेवा लिएका छन्।
अस्पतालको तथ्यांक हेर्दा २०७९/८० मा ६४ हजार २३५ जनाले ओपिडी,१५ हजार ९० जनाले आकस्मिक र २ हजार ५२३ जना भर्ना भएर उपचार सेवा लिएका थिए।
सेवा लिएकोमा गत आर्थिक वर्षमा ओपिडी सेवा लिनेको संख्या क्रमश ९३ हजार ९५१जनाले ओपिडी, १८ हजार ६९२ आकस्मिक र भर्ना हुनेको संख्या ३ हजार २२८ जना छ।
निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुँदै गएपछि सेवाग्राहीको संख्या पनि बढ्दै गएको बताए।
‘विशेषज्ञ सेवा विस्तार हुँदै गएपछि बिरामीहरुले यहीबाट सेवा पाइरहेका छन्,’ उनले भने, ‘अस्पतालको शय्या, विशेषज्ञ सेवा विस्तार भएसँगै बिरामीको चाप पनि वर्षेनी बढ्दै गएको छ। ’
२०४७ सालदेखि १५ शय्याको अस्पतालको रुपमा स्थापना भएको धादिङ अस्पताल २०७५ सालमा बागमती प्रदेश मातहतमा रहेपछि ५० शय्याको रुपमा विकास भएको थियो। सो समयदेखि नै अस्पतालले विशेषज्ञ चिकित्सक सहितको सेवाहरु दिदैं आएको थियो। २०८० सालदेखि अस्पताललाई एक सय शय्यामा सञ्चालन गर्ने योजना अनुसार थप सेवाहरु विस्तार हुदैं गएको अस्पतालका निमित्त अस्पताल निर्देशक डा अधिकारीले जानकारी दिए।
अस्पतालले हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा सञ्चालन गरिरहेको छ।
डा अधिकारीका अनुसार अस्पतालमा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितिको विशेषज्ञ ओपिडी सेवा सञ्चालनमा छन्।
उनले भने, ‘हाम्रो अस्पतालमा हाल १० जना विशेषज्ञ चिकित्सकसहित १५० जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत छन्।’
अस्पतालले न्युनतम सेवा मापदण्डको मूल्यांकनमा पनि ९६ कै प्राप्त गर्दै देशकै दोस्रो उत्कृष्ट अस्पताल बन्न सफल भएको डा अधिकारीले दाबी गरेका छन्।
अस्पतालले सामाजिक सेवाको स्थापना गरी विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिहरुलाई निशुल्क तथा आंसिक छुटमा उपचार सेवा लिएको डा अधिकारीले बताए।
अस्पतालमा नभएको विशेषज्ञ सेवाहरु नाक, कान, घाँटी र मानसिक रोगको उपचारका लागि संघीय अस्पतालहरुसँग समन्वयमा महिनामा एकपटक सेवा प्रवाह गर्ने गरिएको डा अधिकारीले जानकारी दिए।
अस्पतालले गत आर्थिक वर्षमा मुख्यमन्त्री जनता सवस्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी ९५६ जनाको नसर्ने रोगहरुको निशुल्क परीक्षण पनि गरेको थियो।
स्तन क्यान्सरको परीक्षण गर्न मेमोग्राम मेसिनको व्यवस्थापन गरी स्तन क्यान्सरको परीक्षण सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरी यसै आर्थिक वर्षदेखि प्रतिष्ठानले रेजिडेन्ट विशेषज्ञ चिकित्सा सेवा दिने भएको छ।
अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन अस्पतालको नयाँ भवन बनाउन डिपिआर तयार गरेको छ। चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले ३ करोड रकम विनियोजन समेत गरिसकेको छ।