दमौली (तनहुँ)– तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगु संक्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ।
आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगु संक्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो।
विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन संक्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए।
उनले भने, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ। डेंगु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ।” कुँवरले डेंगु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे।
आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।