काठमाडौं- पछिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना संक्रमित थपिएका हुन्।
महाशाखाले सार्वजनिक गरेको यो तथ्यांक स्वास्थ्य संस्थामा आइपुगेका संक्रमितको विवरण मात्र हो। डेंगु संक्रमण भएर स्वास्थ्य संस्थामा नआइपुगेकाको संख्या पनि धेरै हुनसक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार चार दिनमा थपिएका ७१९ जनासहित नेपालमा जनवरीदेखि हालसम्म ३ हजार ८४ जनामा डेंगु संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये एक जनाको मृत्यु भएको छ।
डेंगुको संक्रमण ७३ जिल्लामा फैलिएको छ। जसमध्यै सबैभन्दा बढी तनहुँमा देखिएको छ। महाशाखाको तथ्यांक अनुसार पाँच सयभन्दा बढी संक्रमित देखिएको एक मात्र जिल्ला तनहुँ हो। तनहुँमा ५ सय ८३ लाई डेंगु भएको छ। तनहुँमा ४ दिनमा निकै बढेको हो। चार दिनअघि जम्मा ११० जनामा डेंगु थियो।
त्यसैगरी काठमाडौं ३०७, कास्की १६६, झापा १३५, चितवन १३०, मकवानपुर ८४, भोजपुर ७५, गोरखा ७२, काभ्रेपलाञ्चोक ७१ र पाल्पामा ७१ जनामा डेंगु देखिएको छ।