काठमाडौं- नेपाली औषधि उद्योग क्युबीडीले नेपालमै पहिलोपटक टोल्भाप्टन औषधि बजारमा ल्याएको छ। काभ्रेको साँगा बनेपा-१४ स्थित क्युबीडी फर्मास्यूटिकलले 'टोल्भाप' नाम गरेको टोल्भाप्टन औषधि बजारमा ल्याएको हो। यो औषधि १५ र ३० एमजीमा बजारमा उपलब्ध छ।
उद्योगका अनुसार यो औषधि नेपाली बजारमा ल्याउने क्युबीडी नै पहिलो कम्पनी हो। यो औषधि बजारमा आएको चार दिन मात्रै भएको छ।
'यो औषधि हाइपोनेट्रेमिया, हर्ट फेलिएर र सिन्ड्रोम अफ इनएप्रोप्रिएट एन्टिड्यूर्टिकको उपचारमा प्रयोग हुन्छ। टोल्भाप्टन अर्फान ड्रग क्याटोगोरी अन्तर्गत पर्दछ। यस अघि नेपालमा यो औषधि उपलब्ध नभएर बिरामीहरुले भारत तथा अन्य मूलुकबाट ल्याउनु पर्ने बाध्यता रहेको थियो। अब क्युबीडीले यो औषधि बजारमा सहजरुपले उपलब्ध गराइसकेको छ,' कम्पनीका निर्देशक (मार्केटिङ) ऋषिकेश भण्डारीले भने।
त्यस्तै अर्फान ड्रग लिस्टमा पर्ने एटोमोक्सेटिन पनि क्युबीडीले नेपाली बजारमा १ बर्ष अघि नै एटोमोक्स नाममा ल्याइसकेको छ। यो औषधि एडीएचडीको उपचारको लागि प्रयोगमा आउँछ।
कम्पनीका टेक्निकल निर्देशक सुमित चन्द्र श्रेष्ठले भने, 'देशलाई औषधिको उत्पादनमा आत्मनिर्भरता तर्फ उन्मुख गराउने एक महत्वपूर्ण प्रयासको रुपमा हामीले नेपालमा उत्पादन नभएका नयाँ औषधिको उत्पादनलाई प्राथमिकतामा राखेका छौं।'